सिबी अधिकारी
२ फागुन, काठमाडौं।

काठमाडौँ, २ फागुन । सन् २०१६ मे १९ मा अमेरिकाको टेक्सासमा रुसल श्रेष्ठको दुर्घटनामा परी दुखद निधन भयो । त्यस्तै जुलाई १ मा नेपाली वैज्ञानिक किरण लामिछानेको कार दुर्घटनामा परी डलासमा निधन भयो ।

त्यसैगरी अमेरिकाको ओक्लाहोमा नर्सिङ पढ्दै गरेकी १९ वर्षीया निशा कार्कीको हृदयघातका कारण गत १६ नोभेम्बरमा निधन भयो । उता दुई महिना अघि एट्लान्टा राज्यमै एकै परिवारका चारजना नेपालीको कार दुर्घटनामा ज्यान गयो ।

अमेरिकामा पछिल्लो समय नेपालीले विभिन्न दुर्घटनामा परी ज्यान गुमाइरहेका छन् । तर अमेरिकास्थित नेपाली दूतावासले नेपालीको पीडामा कुनै चासो नै नलिने गरेको अमेरिकामा बस्ने नेपालीले गुनासो छ ।

नेपालीले ज्यान गुमाउँदा उक्त ठाउँमा गएर समवेदना दिनुको साटो दूतावासका जिम्मेवार पदाधिकारीले फोन नै नउठाउने गरेको आरोप उनीहरुको छ ।

नेपालीको दुखद निधन हुँदा सम्बन्धित ठाउँमा गई शव नेपाल पठाउन दूतावासले पहल गर्नुपर्ने स्वाभाविक प्रक्रिया हो । तर, शव नेपाल पठाउन पहल गर्नाको साटो कुनै दयित्वबोध समेत नगरेको पीडितको गुनासो छ ।

गत जुलाई १ तारिखका दिन आफ्नो भाइ किरण लामिछाने गुमाएका दाइ कृष्ण लामिछानेले घटनालगत्तै कागजी प्रक्रिया मिलाउन पटक–पटक फोन गर्दा पनि दूतावासले फोन नउठाएको गुनासो गरे।

नेप्लिज सोसाइटी टेक्सासका अध्यक्षसमेत रहेका लामिछानेले भने–“अमेरिको नासामा साइन्टिस्ट रहेको मेरो भाइको दुर्घटनामा परी निधन भइसकेपछि मैले शव नेपाल पठाउनु पर्यो भनेर दूतावासका अधिकारीलाई धेरै फोन गरेँ तर फोन उठेन । मैले १९ पटकभन्दा बढी कल गरेँ कुनै ‘रेस्पोन्स’ भएन यसमा असाध्यै दुःख लाग्यो ।”

आफ्नो भाइको शवमात्रै नभई निशा कार्की र रुसल श्रेष्ठको समेत शव नेपाल पठाउन कैयौँपटक दूतावासमा पहल गरेको लामिछानेले बताए ।

अमेरिकामा नेपालीको निधन भएपछि त्यहाँको राज्यले मुत्यु सर्टिफिकेट दिन्छ, त्यसपछि नेपाली राजदूतावासले ‘रियल स्ट्याम’ लगाउनु पर्छ, त्यसका लागि पनि हप्तौँसम्म लाग्ने गरेको छ ।

गत माघ २४ गते काठमाडौँमा सिँचाइ मन्त्री दीपक गिरीको प्रमुख आतिथ्यमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष लामिछानेले मन्त्रीकै सामु नेपाली दूतावासका जिम्मेवार पदाधिकारीले सहयोग नगरेको गुनासो गरेका थिए ।

जवाफमा मन्त्री गिरीले राजदूतावासको भूमिकाबारे आफूले कुरा उठाउने बताएका थिए । उक्त कार्यक्रममा स्व निशा कार्कीको परिवारलाई रु ४५ लाख सहयोग गरिएको थियो ।

दूतावासले एयरलाइन्ससँग सम्पर्क गरी शव पठाउन कागजी प्रक्रिया मिलाइदिए सहज हुने पीडितको भनाइ छ ।

अध्यक्ष लामिछानेका अनुसार गएको एक वर्षमा मात्रै टेक्सासमा १२ नेपालीको दुर्घटनामा परी निधन भएको छ । जस्मा जम्मा दुईवटा शवमात्रै नेपाल ल्याउन सकिएको छ ।

अमेरिकामा जो कोही नेपालीको निधन भए पनि निधन भएको व्यक्तिका सम्बन्धमा दूतावासले कागजात प्रमाणित नगरेसम्म शव नेपाल ल्याउन पाइँदैन । तर अहिले दूतावासले समस्यामा परेका नेपालीका विषयमा कुनै सोधखोज नै नगर्ने गरेको गुनासो नेपालीको छ ।

यता परराष्ट्रमन्त्रालयले भने नेपालीको पीडामा स्वाभाविक रुपमा दूतावासले सहयोग गर्नुपर्ने र गर्दै आएको पनि बताएको छ ।

मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले नेपाली नागरिकलाई परेको पीडामा स्वाभाविक रुपमा दूतावासले सहयोग गर्ने बताउँछन्।

“दूतावासले सहयोग नगरेको भन्ने हुनै सक्दैन त्यसबारे केही औपचारिक जानकारी आएको छैन, नेपाली नागरिक हो, भने उनीहरुको हकमा कन्सुलर सपोर्ट दिन, कागजी र कानुनी प्रक्रिया मिलाई शव पठाउन भूमिका निर्वाह गर्नुपर्छ र गर्दै पनि आएको छ” – उनले भने।

कुनै पनि नेपालीको निधन भएको खण्डमा अमेरिकास्थित सामाजिक सङ्घसंस्थाको समन्वय र पहलमा दूतावासले शवको कागजी प्रक्रिया मिलाएर सम्बन्धित ठाउँमा पुर्याउन सहयोग गर्ने गरेको अधिकारीहरु बताउँछन् ।

पछिल्लो आँकडाअनुसार हाल अमेरिकामा करिब चार लाख ५० हजार नेपाली छन् । तीमध्ये टेक्सासमा ७० हजारभन्दा बढी नेपाली रहेको बताइन्छ । अन्यत्र भन्दा टेक्सासमै बढी नेपालको दुर्घटनामा परी निधन भएको छ । रासस