२४ माघ, काठमाडौं । नाट्य सम्राट् बालकृष्ण समको ११५ औँ जन्मजयन्तीका अवसरमा साहित्यकारहरुले नेपाली नाटकलगायतको विकासमा महत्वपूर्ण योगदान गरेको बताएका छन ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्ले आज आयोजना गरेको ‘विशेष प्रवचन’ कार्यक्रममा सहभागी साहित्यकार तथा बुद्धिजीवीले समका खण्ड काव्य, कविता, नाटकले नेपाली साहित्यको विकासमा सहयोग पुगेको विचार व्यक्त गरे ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले तत्कालीन निरङ्कुश शासन तथा समाजका विरुद्ध समको लेखन सशक्त रहेको बताउँदै उनको सिर्जनाले नेपाली साहित्य फराकिलो भएको विचार व्यक्त गरे ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानका पूर्वउपकुलपतिसमेत रहेका सम नेपाली साहित्यका ठूला महारथी भएको स्मरण गरे ।

साहित्यकार तारानाथ शर्माले उच्च घरानामा जन्मेका समले अङ्ग्रेजीको राम्रो अध्ययन गरेको र त्यसलाई नेपाली साहित्यमा प्रयोग गरेकाले तत्कालीन साहित्यको विकासमा राम्रो प्रभाव परेको विचार व्यक्त गर्नुभयो । साहित्यकार मोदनाथ प्रश्रितले ज्ञानको दृष्टिकोण र अध्ययनको उच्चताले समलाई अनवरत रुपमा साधना गर्न सक्ने साधकका रुपमा स्थापित गरेको तथा नेपाली नाटकमा शेक्सपियरको शैली र प्रभाव विकास गरेको बताए ।

प्रतिष्ठानका सदस्यसचिव प्रा डा जीवेन्द्रदेव गिरी, शिक्षा परिषद्का सदस्य सचिव रमा शर्मा र प्रा कृष्ण गौतमले निबन्ध, र नाटकमा समको बौद्धिकता उपयोग भएको बताउँदै उनले राणा भएर पनि सामाजिक सुधारका लागि सशक्तरुपमा कलम चलाएको विचार व्यक्त गरे ।