५ साउन, काठमाडौं । सिंगापुरमा जारी १९ बर्ष मुनिको आइसीसी विश्वकप क्रिकेटमा नेपाल अफगानिस्तानसँग १ सय ४१ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

आज भएको खेलमा अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको नेपाल २६ ओभरमा ४९ रनमै अलआउट भयो । नेपालका लागि पवन सर्राफले २६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन् ।

नेपालका ४ खेलाडी शुन्य रनमै पभेलियन फर्किए । नेपाललाई सस्तैमा समेट्न अफगानिस्तानका नविन उलहक र मुजिब जाड्रनले ४, ४ विकेट लिए । यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङमा आएको अफगानिस्तान २ बल बाँकी छँदा १ सय ९० रनमा अलआउट भएको थियो ।

उसका लागि इब्राहिम जाड्रनले सर्वाधिक ४३ र नाभिद ओविदले ३३ रनको योगदान गरे । नेपालका साहब आलमले ३, कप्तान सन्दिप लामिछाने र पवन सर्राफले २–२ र किशोर महतो र दिपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए ।

डबल राउण्ड रोबिन लिगका आधारमा भइरहेको प्रतियोगिताको सुरुवाती दुई खेलमा नेपालले सिंगापुर र मलेसियालाई पराजित गरेको थियो ।