९ माघ, काठमाडौँ।
सरकारले बन्द नेपाल औषधी उद्योग लिमिटेडलाई पुनः सञ्चालनमा ल्याउन नयाँ मेसिन खरिद गर्न लागेको छ ।

फाइल तस्बिर

उद्योगमन्त्री नविन्द्रराज जोशीले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दे उद्योग सञ्चालनमा ल्याउन सरकारले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को असल उत्पादन प्रणाली (जीएमपी) मापदण्डमा औषधि उत्पादन गर्न नयाँ मेसिन खरिद गर्न लागेका बताएका छन् ।

औषधी उत्पादन गर्ने मेसिन ल्याउनका लागि बोलपत्रको प्रक्रिया सुरु गरेको उनले बताए । यस्तै, भैरहवामा स्थापना भएको विशेष आर्थिक क्षेत्र (सेज) का लागि बिजुलीको व्यवस्था गरेको भएको मन्त्री जोशीले जानकारी दिए ।

त्यस्तै मन्त्रालयले फाल्गुनको पहिलो हप्ता अल्लो उत्पादन हुने ५८ जिल्लामा अल्लो अभियान चलाउने जनाएको छ । मन्त्री जोशीले सहिद दिवसको अवसरमा उद्यमशीलताको प्रर्वद्धन र उद्योगको समग्र विकास बिषयक अन्तरसम्बाद गर्ने , घरेलु तथा उद्योग दर्ताका लागी घुम्ती शिविर सञ्चालन गर्ने बताए ।

उनले भूकम्पबाट प्रभावित १४ जिल्लामा उद्यम प्रवद्र्धन र रोजगारी सिर्जना सम्बन्धी कार्यक्रम सुरु गर्ने जानकारी पनि दिए ।

सरकारले ल्याउन लागेको कम्पनी ऐन विधेयक अर्को साता व्यवस्थापिका संसदमा पेश हुने मन्त्री जोशिले जानकारी दिए । प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्नका लागि आवश्यक सम्भाव्यता अध्ययनका लागि परेका प्रस्तावको अध्ययन भइरहेको उनले बताए ।