४ भदौ, काठमाडौं ।
नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ‘व्यावसायिक पत्रकारिताको आधारः प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने नाराका साथ हुने महाधिवेशनको प्रधानमन्त्री शेरवहादुर देउवाले बिहान १० बजे कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा उद्घाटन गर्ने कार्यक्रम छ ।

महाधिवेशनका लागि जिल्ला जिल्लाबाट प्रतिनिधि राजधानीमा आइसकेका महासंघले जनाएको छ । प्रतिनिधिलाई सुन्धारा, बागबजार र जमलका विभिन्न होटेलमा राखिएको छ । प्रत्येक तीन/तीन वर्षमा हुने महाधिवेशनले ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भोली मतदान हुनेछ । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष–२ महासचिव–१, सचिव–६ र कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

महाधिवेशनमा एक हजार ५ सय १५ प्रतिनिधि सहभागी हुनेछन् । महासंघको नयाँ नेतृत्वका लागि मुख्य गरी २ वटा प्यानलबिच प्रतिस्पर्धा हुने देखिएको छ । तिर्थ कोइरालाको नेतृत्वमा नेकपा एमाले निकट प्रेस चौतारीले प्यानल खडा गरेको छ भने नेपाली काँग्रेस निटक प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टरलगायतले गोविन्द आचार्यको नेतृत्वमा प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रँदैछन् ।

प्रेस युनियन, प्रेश सेन्टरलगायतको लोकतान्त्रिक गठबन्धनको उपाध्यक्षमा विपुल पोखरेल र दिलीप थापामगर तथा महासचिवमा रमेश विष्टले उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तै प्रेस चौतारीको नेतृतवमा रहेको प्यानलबाट उपध्यक्षमा मात्रिका पौंडेल र महेश दास तथा महासचिवमा बालकृष्ण बस्नेतले उमेद्बारी दिने भएका छन् । महासंघको अध्यक्षका लागि उजिर मगर र इन्द्र राउतले पनि उम्मेदवारी घोषणा गरेका छन ।