९ माघ, बैतडी । सीमा क्षेत्रमा हुने अपराधलाई नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षा अधिकारी सहमत भएका छन् ।

आज भारतको पिथौरागढमा सम्पन्न बैठकमा दुवै देशका अधिकारीले समन्वयात्मक हिसाबले अघि बढ्ने निर्णय गरेका छन् । बैतडी, दार्चुला र भारतको पिथौरागढ जिल्लाका अधिकारीबीच भएको सो बैठकमा भारतको उत्तराखण्डमा फेब्रुअरी १५ तारिखमा हुने चुनावका विषयमा समेत छलफल भएको बैतडीका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले जानकारी दिए ।

उत्तराखण्डमा हुन गइरहेको निर्वाचनका समयमा सीमा क्षेत्रमा हुन सक्ने अवाञ्छित क्रियाकलाप रोक्ने, सीमा क्षेत्रबाट हुन सक्ने चेलीबेटी बेचबिखन, जडीबुटी, लागुऔषध ओसारपसार नियन्त्रणका विषयमा समेत छलफल भएको उनले बताए । दुवै देशका सुरक्षा अधिकारी सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न समन्वयात्मक तरिकाले अघि बढ्न समेत सहमत भएका छन् ।

भारतीय सेनाबाट अवकाश पाएका नेपालीले निवृत्तिभरण पाउँदा प्रजिअको सिफारिस अनिवार्य गरिएको व्यवस्थालाई बदल्न आग्रह गरिएको र अवदेखि सहायक प्रजिअको सिफारिसमा निवृत्तिभरण पाउन सकिने व्यवस्था गरिएको प्रजिअ चौधरीले बताउनुभयो । “भारतमा मजदुरी गरेर फर्कने नेपालीलाई सीमा क्षेत्रमा हुन सक्ने दुव्र्यवहारको बारेमा पनि छलफल भयो,” उनले भने ।

बैठकमा नेपालका तर्फबाट बैतडीका प्रजिअ चौधरीको नेतृत्वमा प्रहरी नायब उपरीक्षक हेरम्ब शर्मा, अनुसन्धान अधिकृत रमेश डाँगा, दार्चुलाका सहायक प्रजिअ हर्कबहादुर सिंहलगायत तथा भारतका तर्फबाट पिथौरागढ जिल्लाका प्रजिअ डा रञ्जितकुमार सिन्हा र सुरक्षा अधिकारीको सहभागिता रहेको थियो । रासस