१० फागुन, काठमाडौँ।
नेपाल र मलेसियाबीच श्रम सम्झौताका विषयमा बुँदागत रुपमा छलफल भए पनि ठोस सहमति जुट्न सकेन ।

नेपाल भ्रमणमा रहेको मलेसिया सरकारको मानव संशाधन मन्त्रालयका सहसचिव केसावन करुप्पिह नेतृत्वको टोली र नेपालका तर्फबाट श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेल नेतृत्वको टोलीबीच श्रम सम्झौताका बुँदामा सोमबार र मङ्गलबार चरणबद्ध वार्ता भएको थियो ।

वार्ता सकारात्मक भए पनि मलेसियाले केही बुँदामा थप छलफल गर्नुपर्ने आवश्यकता औँल्याएपछि ठोस सहमति हुन नसकेको वार्तामा सहभागी वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिए । असहमतिका बुँदाबारे भने उनले खुलाउन चाहेनन् ।

काफ्लेले भने, “श्रम सम्झौताको अधिकांश बुँदामा सहमतिमा पुगिएको छ । हामीले प्रस्ताव गरेकामध्ये दुई-चार बुँदामा उनीहरुले आफ्नो धारणा पठाउने र त्यसमा हाम्रो प्रतिक्रियापछि त्यसलाई अन्तिम रुप दिने सहमति भएको छ ।”

मलेसियाका तर्फबाट सहसचिवको नेतृत्वमा सात सदस्यीय टोली वार्तामा सहभागी थियो । नेपालको तर्फबाट सहसचिव भुर्तेलसहित बोर्डका कार्यकारी निर्देशक काफ्ले, वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे, परराष्ट्र मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

मलेसियाली पक्षले निःशुल्क प्रवेशाज्ञा र टिकट, २४ घण्टे बिमालगायतका विषयमा थप छलफल गर्नुपर्ने बताएको थियो । दुवै पक्षले वार्तामा प्रस्ताव भएका विषयमा थप अध्ययन गरेर छिट्टै सम्झौतालाई अन्तिम रुप दिने सहमति गरेका छन् । छलफलमा मलेसिया जाने कामदारबाट विभिन्न नाममा रकम असुल्ने कार्य भएको भन्दै सो रोक्न मलेसियाली टोलीको ध्यानाकर्षण गराइएको थियो ।

मलेसियाली टोलीको नेतृत्व गर्दै सो देशका मानव संशाधनमन्त्री नै नेपाल आउने तयारी रहेकामा श्रम सम्झौतामा तत्काल सहमति हुने सम्भावना नदेखएपछि सहसचिवको नेतृत्वको टोली आएको हो । यसअघिका वर्षहरुमा मलेसिया नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक रहेकामा गत वर्ष भने तेस्रो प्रमुख गन्तव्य मुलुकमा झरेको थियो । हाल छ लाखभन्दा बढी नेपाली मलेसियामा कार्यरत छन् । रासस