२६ साउन, काठमाडौं । नेपाल हाइड्रो डेभलपरले शुक्रबारदेखि तीन लाख ९० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीका अनुसार रु एक सय अंकित मूल्यका रु तीन करोड ९० लाख मूल्य बराबरको सेयर निष्काशन गर्न लागिएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल छ ।

कम्पनीका प्रमुख एवम् ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले साधारण सेयरका लागि ‘आस्वा प्रणाली’मार्फत मात्र आवेदन गर्नुपर्ने जानकारी दिनुभयो । नेपाल धितोपत्र बोर्डले यही साउन १ गतेदेखि सार्वजनिक निष्काशनमा आश्वा प्रणाली अनिवार्य गरेको छ ।

आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थामार्फत नै साधारण सेयरमा आवेदन दिन सकिने छ । सबै आवेदकलाई १० कित्ता सेयर अनिवार्य रुपमा बाँडफाँट गर्नुपर्ने नयाँ व्यवस्थाले गर्दा आवेदन दिने सबैलाई साधारण सेयर पर्नेछ ।

उक्त कम्पनीले दोलखामा ३.५२ मेगावाट क्षमताको चर्नावती जलविद्युत् आयोजना निर्माण गरिसकेको छ । कम्पनीले यसअघि गत मंसिरमा दोलखाका आयोजना प्रभावितलाई दुई लाख ६० हजार कित्ता साधारण सेयर बिक्री गरि बाँडफाँट गरिसकेको छ । रासस