१४ चैत, काठमााडौं ।

प्रतिबन्धित भारतीय ५ सय र एक हजार दरका नोट साटिने नसाटिनेबारे ठोस निर्णय हुन नसकेपछि भारतीय पक्ष फर्किएको छ ।

नेपाल र भारतका अधिकारीबीच आइतबार र सोमबार काठमाडौंमा भएको छलफलमा कुनै सहमति हुन नसकेपछि भारतीय रिजर्ब बैंकको टोली आज स्वदेश फर्केको हो । भारतीय पक्ष फर्केसंगै भारतीय नोट साटिने नसाटिने अन्यौल कायमै रहेको छ ।

दुई पक्षिय बैठकमा भारतीय पक्षले प्रति व्यक्ति ४ हजार ५ सय भारु साटिदिने, पैसा संकलनका लागि १ हप्ताको समयमात्र दिने, भारु साट्ने व्यक्तिले भारुको स्रोत खुलाउनुपर्ने र सक्कली वा नक्कली भन्ने परीक्षणपछि मात्रै रकम साटिदिने प्रस्ताव गरेको थियो ।

तर नेपालले प्रतिव्यक्ति २५ हजार भारु साटिदिनु पर्ने, नेपालीसंग भएको त्यस्तो पैसा संकलनका लागि कम्तीमा ३ हप्ताको समय दिनुपर्ने प्रस्ताव भारतीय पक्षले अस्वीकार गरेपछि सहमति हुन सकेन ।

अब भारतीय पक्षले लिएको अडानको विषयमा नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग छलफल गर्ने भएको छ ।

छलफलपछि राष्ट्र बैंक मार्फत नेपाल सरकारको आधिकारिक धारणा भारतीय रिजर्भ बैंकमा पठाउने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बताए ।

भारतीय पक्षले प्रस्ताव गरेको सटही सीमालाई मान्न सरकार तयार देखिए त्यसै अनुसार अघि बढ्ने राष्ट्रबैंकको भनाई छ ।