काठमाडौं, ५ चैत । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा सरकारले हालै गरेको पदाधिकारी नियुक्तीप्रति सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले विरोध गरेको छ ।

सरकारले गरेको पदाधिकारी नियुक्ती स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैंले गरेको सम्झौता विपरित मात्र नभई यसले सरकारी सेवामा रहेका चिकत्सकहरुलाई समेत अवमूल्यन गरेको संघको ठहर छ ।

संघले विज्ञप्ती जारी गर्दै विश्वविद्यालय, शिक्षण अस्पतालहरुको पदाधिकारी, प्राध्यापक शिक्षक तथा कर्मचारीहरु बरिष्ठता तथा अनुभवका आधारमा सरकारकै स्थायी चिकित्सक तथा कर्मचारीको नियुक्ती हुने व्यवस्था गर्नुपर्ने माग गर्दै आएको पनि स्मरण गराएको छ ।

त्यसैले नियुक्तीको निर्णय तत्काल सच्याउन पनि संघले सरकारसमक्ष माग गरेको छ । सरकारले केही दिन अघि न्याम्सको उपकुलपतिमा प्राध्यापक डाक्टर डिएन साहलाई नियुक्त गरेको थियो भने रेक्टरमा डाक्टर सुवोध अधिकारी, रजिष्टारमा डाक्टर प्रमिला देवान र डिनमा डाक्टर पियुस दाहाल नियुक्त गरेको थियो ।