८ असोज, काठमाडौँ।

भारतको आन्द्र प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रको विकासको प्रभावले नेपालको मौसममा खरावी आएको छ ।

उक्त प्रणालीसँगै नेपालमा वायु दक्षिण पूर्वी र दक्षिणी बहेका कारण मौसम बदली भई देशका अधिकांश भेगमा वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण खासगरी देशका मध्य र पूर्वी भेगमा भारी वर्षात् भएको मौसमविद् सुवास रिमालले राससलाई जानकारी दिए ।

“गएरातिदेखि सुरु भएको यो प्रणालीको बढी असर पूर्वी भेगमा छ, मध्य र पश्चिममा केही कम देखिन्छ, भोलि आइतबार पनि मध्य र पूर्वी भेगमा दिउँसोसम्म असर रहनेछ, सोमबारदेखि क्रमिक रुपमा सुधार आउनेछ” – उनले भने । पूर्वी भेगमा आज राति भारी वर्षा हुने बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा बढी दाङमा ७६ मिलीलिटर वर्षात् भएको छ । काठमाडौँमा १२.५, विराटनगरमा ९.७, पोखरामा २५.९ र नेपालगन्जमा २२.२ मिलिलिटर वर्षा भएको छ ।

आज काठमाडौँको अधिकतम तापक्रम २४.५ र न्यूनतम १८.५ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । रासस