महाभारतको पालामा क्षेत्रीय धर्मका अनुसार हरेक राजकुमारले कुनै-न-कुनै अस्त्रविद्या सिक्नै पर्ने हुन्थ्यो। हस्तिनापुर नरेश धृतराष्ट्रका जेष्ठ पुत्र दुर्योधन पनि आफ्ना भाईलगायत पाण्डुपुत्र पाण्डवहरूसँगै गुरु द्रोणाचार्यबाट शस्त्रअस्त्र विद्या सिक्ने गर्दथे, तर दुर्योधनलाई गुरुको कक्ष मन नै पर्दैनथ्यो। उनलाई सिक्ने इच्छा त थियो र आफ्ना पिताको राज्यमा भिखारीजस्तै भोगचलन गर्न आएका पाण्डवहरूसँगै बसेर शिक्षा लिनु उसको मानमर्यादाको विरोधमा थियो। ऊ सोँच्दथ्यो कि पाण्डवहरू आफूसरह गुरु द्रोणाचार्यसँग शस्त्रअस्त्र विद्या सिक्न योग्य छैन।

गुरु द्रोणाचार्यको बारेमा सोँच्दा दुर्योधनलाई अझ बढि रिस उठ्थ्यो, किनभने गुरुको अर्कै ‘मनपर्ने विद्यार्थी’ थियो- पाण्डुपुत्र अर्जुन! यो कुरा सोँच्दैमा दुर्योधनको रगत उम्लिन थाल्थ्यो।

अर्जुनको बारेमा द्रोणाचार्यलाई के मन पर्थ्यो, यो कुरा दुर्योधनले बुझ्न सकेका थिएनन्। अर्जुन पनि त अन्य विद्यार्थीहरूजस्तै थिए, तैपनि गुरुले उनलाई किन बढि रुचाउँछन् भन्ने कुरा दुर्योधनको सङ्कुचित र अहङ्कारी दिमागले सोँच्न सक्दैनथ्यो।

अर्को दिन, गुरु द्रोणाचार्यले सुनोस् भन्ने हेतुले नै दुर्योधनले आफ्ना भाईहरूसँग कानेखुसी गर्दै भने- “यो द्रोणाचार्य, साह्रै चम्मु छन्! बिनाकारण अर्जुन सबैभन्दा श्रेष्ठ छन् भन्ने ठान्छन्। अर्जुनमा त्यस्तो खास केहि छैन। यो सब द्रोणाचार्यको खेल हो।”

दुर्योधनले चाहेजस्तै गुरु द्रोणाचार्यले पनि उसको कानेखुसी सुनिरहेका थिए, तैपनि केहि बोलेनन्। दुर्योधनको ईर्ष्यालुपना र अर्जुनमा भएको खुबी देख्न नसक्ने अन्धोपना देखेर द्रोणाचार्य केवल मुस्कुराए मात्रै। अर्जुन विशेष विद्यार्थी थिए। उसमा खास खुबी थियो, जुन अरू कसैमा उनले देखेका थिएनन्। दुर्योधनलाई पाठ सिकाउने द्रोणाचार्यले एउटा गतिलो जुक्ति सोँच्न थाले।

त्यसैको अर्को दिन, जब सबै राजकुमारहरू आफ्ना-आफ्ना धनुषवाण लिएर धनुषविद्याको लागि तयार हुँदै थिए, तब गुरु आए र उनीहरूलाई अलि परको घाँसेमैदानमा लगे। करीब १ किलोमिटर पर एउटा रूख थियो।

“प्रिय शिष्यहरू!”, सबैलाई हेरेर मुस्कुराउँदै द्रोणाचार्यले भने- “ऊ त्यो परको रुखमा एउटा कटपुतली पक्षी छ। आजको कक्षमा तिमीहरूले केवल एउटा वाणले त्यो पक्षीको आँखालाई भेद गरेर खसाल्नुपर्नेछ।” सबै विद्यार्थीहरू एक-आपसमा हेर्दै अचम्ममा पर्न थाले। “यो कस्तो परीक्षा हो? त्यत्ति पर रहेको सानो पक्षीको आँखालाई केवल एउटा वाणले कसरी भेद गर्न सकिन्छ? हाम्रा गुरुले के सोँचेर यस्तो परीक्षा लिन लागेका हुन्?” सबैको मनमा यहि प्रश्नचिन्ह थियो।

सबैजनाको खुसखुसलाई रोक्दै थपडी मारेर द्रोणाचार्यले भने- “शिष्यहरू! म सबैलाई पालैपालो बोलाउनेछु। तिमीहरू अगाडि आओ, मेरो छेउमा बसो, मेरा प्रश्नहरूको उत्तर देओ र मैले भनेपछि मात्रै आफ्नो वाण चलाओ!”

आज्ञाकारी हुँदै सबैजना गुरुको आदेशको प्रतिक्षामा उभ्भिरहे। “युधिष्ठीर!” द्रोणाचार्यले जेष्ठ राजकुमारलाई बोलाए- “अस्त्र उठाउ र त्यस पक्षीलाई निशाना लगाउ!” युधिष्ठीरले धनुष ताने, लामो सास लिए र पर रुखमा रहेको काठेपक्षीलाई निशाना लगाए। तथापी, युधिष्ठीरले गुरुको प्रश्न र आदेशको प्रतिक्षा गरिरहे।

“पक्षी देख्यौ युधिष्ठीर?” द्रोणाले सोधे। “देखेँ गुरु!”

“ल ठीक छ! अरू के-के देख्यौ?”

युधिष्ठीर छक्क परे, तैपनि भने- “गुरु! मैले सबै कुरा देखिरहेछु। पक्षी, रुख, रुखका पात… हजुर र मेरा भाइहरू!”Arjun and Bird's Eye- Mahabharat Story (3)

दुःखी हुँदै द्रोणाचार्य मुस्कुराए र युधिष्ठीरलाई उसको अस्त्र बिसाउन आदेश दिए- “तिमीले पक्षीको आँखा भेद गर्न सक्दैनौ!” युधिष्ठीरले पनि गुरुको आज्ञा मानी अस्त्र बिसाए र आफ्ना भाइहरूसँगै गएर उभ्भिए। दुर्योधनको ओँठमा मीठो मुस्कान पलायो, जब गुरुले उसको नाम लिएर अगाडि आउन आदेश दिए- “दुर्योधन! अगाडि आऊ!”

दुर्योधनले पनि त्यस रुखमा रहेको पक्षीलाई सजिलै निशाना लगाए र वाण छोड्न खोजे। तर द्रोणाचार्यले रोक्दै भने- “हतार नगर दुर्योधन! पहिला भन के देख्यौ?”

“पक्षी, वृक्ष र हजुर गुरु!”

द्रोणाचार्यले टाउको हल्लाउँदै भने- “आफ्नो वाण खर्च नगर दुर्योधन! धनुष बिसाउ।” घुर्की देखाउँदै दुर्योधन पनि आफ्नै ठाउँमा गएर बसे।

द्रोणाचार्यले सबै राजकुमारहरूलाई पालैपालो बोलाए र सबैलाई फेरि आफ्नै ठाउँमा फिर्ता पठाए। अन्तिममा अब दुईजना विद्यार्थी बाँकी रह्यो- अस्वथ्थमा र अर्जुन!

गुरु द्रोणाचार्यले अस्वथ्थमालाई अगाडि बोलाए। अस्वथ्थमाले पनि आफ्ना पिताको आदेश पालना गरी पक्षीलाई भेद गर्ने हेतुले निशाना लगाए। “के देख्यौ पुत्र?” गुरुले प्यारो स्वरमा सोधे।

“पिताश्री! मैले केवल पक्षीलाई मात्रै देखिरहेछु… अरू केहि देखेछैन।” अस्वथ्थमाको उत्तर सुनेर सबैजना चकित परे। द्रोणाचार्यले पनि अझै धकेल्दै प्रश्न सोधे- “पक्षीको अरू के देख्यौ पुत्र?”

“त्यो पक्षी काठको छ, पिताश्री!”

“अनि त्यसको आँखा?”, आँखीभौँ उठाउँदै द्रोणाचार्यले सोधे।Arjun and Bird's Eye- Mahabharat Story (1)

पक्षीलाई निशाना लगाइरहेका अस्वथ्थमाले निराश हुँदै भने- “मैले त्यसको आँखा राम्रोसँग देखेको छैन, पिताश्री!” दुःखी हुँदै लामो सास तानेर द्रोणाचार्यले आफ्ना पुत्रलाई धनुष बिसाउन आदेश दिए।

अब पालो अर्जुनको- द्रोणाचार्यको मनपर्ने शिष्य! अस्वथ्थमाले पनि अर्जुनलाई हेरेर ईर्ष्याको भावना लिँदै अरू भएको ठाउँमा उभ्भिन गए।

“अगाडि आउ, अर्जुन!” गुरुले बोलाएपछि अर्जुन पनि आत्मनिर्भरताका साथ अगाडि आए र धनुष तानी पक्षीलाई निशाना लगाए।

रुखलाई देखाउँदै द्रोणाले सोधे- “के देखिराछौ अर्जुन?”

“आँखा खोलिरहेको काठको पक्षी, गुरु!” पक्षीलाई ताक्दै अर्जुनले भने। द्रोणाले अझै ठूलो आँखा खोल्दै सोधे- “अरू के देखिराछौ अर्जुन?”

लामो सास तान्दै, एउटा आँखालाई खुम्च्याउँदै अर्जुनले भने- “त्यसको टाउको गोलो छ! अरु केहि छैन”

“त्यसको खुट्टा, पँखेटा…. अरू देखेछैनौ?” इच्छुक हुँदै द्रोणाचार्यले सोधे।

निर्धक्क भई अर्जुनले भने- “छैन गुरु! मैले अरू केहि पनि देखेको छैन।”Arjun and Bird's Eye- Mahabharat Story (2)

चकित हुँदै द्रोणाले टाउको हल्लाए- “आक्रमण!” द्रोणाले शब्द अन्त्य गर्न नपाउँदै सबैजनाले १ किलोमिटर पर रहेको रुखबाट काठे चरा खसेको देखे।

त्यसपछि द्रोणाचार्यले अस्वथ्थमातर्फ फर्किएर दुखी हुँदै भने- “तिमीले पक्षीलाई भेद्न सक्थ्यौ, तर फेरि सक्थेनौ पनि! तिम्रो लागि त्यो मौकासरह थियो। त्यसैले तिमीलाई वाण बिसाउन भनेको हूँ।” पिताको यस्तो वचन सुनेर अस्वथ्थमाको मन चुँडिन मात्रै बाँकी थियो।

अरू राजकुमारतर्फ फर्किँदै द्रोणाचार्यले भने- “त्यसरी हो धनुष चलाउने… ” अर्जुनलाई धाप लगाएर गौरवान्वित महशुस गर्दै भने- “यसरी हो कुनै काम सम्पन्न गर्ने… केवल लक्ष्यलाई सोँचेर! कुनै काम गर्नुभन्दा अगाडि आफ्नो लक्ष्यलाई बुझ्नु जरुरी हुन्छ। आफ्नो उदेश्यलाई निशाना लगाउनु जरुरी हुन्छ… त्योबाहेक अरूकुरामा नजर लगाउनु भनेको लक्ष्यबाट टाढा जाने सङ्केत हुन्छ।”

कुरा बुझेर हो या लज्जास्पद महशुस गरेर हो, दुर्योधनको शिर बिस्तारै झुक्यो। द्रोणाचार्यले पनि दुर्योधनलाई पाठ सिकाएजस्तो महशुस गरे, तर ‘कुकुरको पुच्छर बाह्र वर्षसम्म ढुङ्ग्रामा राख्दा पनि बाङ्गाको बाङ्गै’ भनेजस्तै दुर्योधनको अहङ्कार र घमण्डको कहिल्यै अन्त्य भएन। भाई-भाई बीचको यहि ईर्ष्या नै पछि गएर महाभारत युद्धको रूप लिन पुग्यो।

यो पनि हेर्नुहोस्-
“म पनि यहिँ छु, घाम पनि त्यहिँ छ!”- बौद्ध भिक्षुको रोचक कथा
यदि शिवजीले नरोकेका भए, संसार ध्वस्त पार्ने थिए विष्णुले- यस्तो छ रोचक कथा
आफ्नै मूर्खताको कारण देवलोक गुमाउनुपर्यो इन्द्रले
धर्मका प्रतीक पाण्डव पुगे नर्कमा, तर अधर्मी दुर्योधन पुगे स्वर्गमा
हनुमान चालिसाका रचयीता ‘तुलसीदास’ले यसरी भेटेका थिए हनुमानलाई