१२ असार, गौशाला । पत्नीलाई हत्या गरेको आरोपमा प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मटिहानी गाउँपालिका–३ सिरसियाका २५ वर्षीय प्रदीप सहनी रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।

मटिहानी गाउँपालिका–६ सिमरदहीका जुगेश्वर सहनीकी २० वर्षीया छोरी टिङ्की कुमारीसँग दुई वर्षअघि उनको बिहे भएको थियो । बिहे भएको दुई वर्ष बितिसक्दा पनि सन्तान नभएको तथा पत्नी मन नपरेको भन्दै सहनीले परिवारका अन्य सदस्यसँग मिलेर टिङ्कीको हत्या गरेको आरोप मृतकका माइती पक्षले लगाएका छन् ।

घाँटीमा गम्छाको पासो लगाई झुन्डिएको अवस्थामा प्रहरीले शनिवार टिङ्की सुत्ने कोठामा उनको शव बरामद गरेको थियो । घटनापछि युवक सहनी, उनका आमाबुबासहित घरका सबै सदस्य फरार छन् ।

सहनी परिवारका सबै सदस्य फरार भएपछि स्थानीयले टिङ्कीको माइती पक्षमा खबर दिएपछि मृतकका बुबा जुगेश्वर सहनी र दाजु मनोज सहनी घटनास्थलमा पुगेर प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।

फरार रहेका सहनी सामान लिन घर आएका बेला गाउँलेले उनलाई पक्राउ गरी प्रहरीमा बुझाएका छन् । पक्राउ परेका सहनीलाई हिरासतमा राखी घटनाबारे आवश्यक अनुसन्धान गरिरहको प्रहरीले जनाएको छ । रासस