हेमन्त गिरी

तीज ताका नेपालतिर कुरा हुंदा साथीले भनेथ्यो ,”यार चाडवाड त परदेशमै रमाइलो।” म खिस्स हाँसे मात्र, जवाफ फर्काइन । जे तस्विर देख्यो, साथीले त्यही भन्यो । तर कथा फरक छ। तस्विर र कथा मेल नखाएको चलचित्र जस्तै छ परदेशमा चाडवाडको नालिबेली ।hemant-giri-154537910

कोएन्जी टोकियोमा दिदी भिनाजु संगै बस्ने बिमल अर्यालको टिकाको दिन बिदा छैन ।बिमल जापान बिद्यार्थी भिषामा आएका हुन । कलेज त बिदा मिल्ने तर काममा बिदा नमिल्ने उनको अफ्ठेरो छ । टिका कतिबेला लगाउने त ? भन्ने प्रश्नको जवाफमा बिमल हाँस्दै भन्छन्, “मध्यरातमा काम बाट फर्किंदा सम्म परिवारका सदस्य जागै बसेछन भने राती लगाउनु पर्ला नि!” निश्चय पनि बिमल राती टिका लगाउने छन्, अनी फेसबुक्, ट्विटर वा इन्स्टाग्राममा टिका लगाएको फोटो पोस्ट गर्नेछन्, दशैं रमाइलो भयो भनेर लेख्नेछन अनि सबैले बिमलको परदेशी दशैं रमाइलो देख्नेछन ।dashain-14299889

नेपालीहरु कर्म गर्न जाने बिदेशी मुलुकहरुमा इन्टरनेट्को सहज पहुँच छ, दुइ चार पैसा कमाउने मान्छे सँग क्यामेरा वा मोबाइल नहुने कुरो भएन । यिनै केही साधनले परदेशको चाडवाड रमाइलो देखाइदिन्छन । तर जब समय ब्यबस्थापनको कुरा आउँछ, असाध्यै गाह्रो हुन्छ परदेशमा । न शुभ साइत हुन्छ यहाँ, न शुभ मुहुर्त, जहाँ जतिबेला मौका मिल्यो त्यही शुभ साइत्, त्यही शुभ समय ।

कतारमा कार्यरत श्रीराम गौतम यसपाली टिका नलगाउने सोचमा हुनुहुन्छ । दशैं र टिका मन नपरेर होइन,बिदा नभएर । “पोहोर परार त नेपाली हरु मिलिजुली टिका लगाउने कार्यक्रम गरिन्थ्यो, यसपाली गरिएन, देशको अवस्था त्यस्तो छ, जाँगर गरिएन । हप्तामा एकदिन बिदा हुन्छ्, त्यसैलाई दशैं मान्यो बस्यो”, गौतम भन्नुहुन्छ ।

लामो समय नेपालमा सन्चार क्षेत्रमा काम गर्नुभएकी पुर्णिमा न्यौपाने हाल कतारमा हुनुहुन्छ । दुई महिना मात्र भो उहाँ जानुभएको । आफ्नो दशैं अनुभव रमाइलो पाराले सुनाउंदै उहाँ भन्नुहुन्छ्,”बिहे भाको ६ वर्ष भयो, बिहेमा सगैँ राखेर पन्डितले टिका लगाइदेका हुन्, नत्र उहाँसँग टिका लगाउने दशैं कहिलै आएन । यसपाली त परदेशमा दुई जनाले सङ्गै टिका लगाइएला भन्ने थियो, घरबाट दशैं रोकिएको खबर आयो ।” पुर्णिमा जि को अनुसार उहाँको श्रीमान सुमन तमोटले घरमा दशैंको टिका नथापेको ९ वर्ष भयो ।

अमेरिका, युरोप, अस्ट्रेलिया, जापान लगायतका मुलुकमा प्राय नेपालिहरु परिवार सँगै हुन्छन । परिवार सँगै हुने केही अपवाद छोडेर खाडी मुलुक तथा मलेसिया हुने नेपालिहरुको दशैं कथा झन कारुणिक हुन्छ ।

यी कथा भन्दा फरक दशैं कथा पनि भेटियो । विद्यार्थी भिषामा जापान आएर योकोहामामा बस्दै आएका दिनेश घिमिरेको यसपालिको दशैंमा टिका छैन तर टिकाकै दिन बिदा छ । दिनेश चिन्तित छन् । भन्छन्, “टिकाको दिन बिदा भएर टेन्सन भाछ दाइ,आठ्द-श घन्टा मारे बरु पैसा आउँथ्यो । आखिर ठूलो पैसै त रैछ । घरमा फोन गर्यो कि पैसा कैले पठाउँछस मात्र भन्छन । आफुलाई गाक्को(कलेज्को) फी तिर्न नसकेर पिसिल पिसिल छ ।” दिनेश बडो चिन्तित स्वरमा चाड्वाड मन नपर्ने कुरा सुनाउँछन् ।

यि त केही प्रतिनिधी कथाहरु मात्र हुन । यस्ता कुनै न कुनै कथा परदेशका हरेक पात्र सँग छन् । कोही सुनाउंछन् कोही सुनाउँदैनन् । राती जाग्राम बसी चाडवाड मनाएर बिहानै अनिदो काममा दगुर्ने कथाहरु पनि छन्, एक घन्टाको ब्रेक लिएर उपलब्ध मान्यजन्, परिवार वा साथीभाइको हातबाट हतारहतार टिका थापी तत्काल टिको पुछेर काममा कुद्ने कथाहरु पनि छन,बिदा नपाएर जागिर नै छोड्ने कथाहरु पनि छन्, बिदा मागे जागिर बाट निकालिदिने कथाहरु पनि छन्, अरुलाई देखाउनकै लागी पैसाको खोलो बगाउने कथाहरु पनि छन्, अनी पैसा कमाउनकै लागी चाडवाड नमान्ने वा नमान्न बध्य हुने कथाहरु पनि छन । परदेशमा चाडवाड महत्व जति छ, त्यो भन्दा बढी महत्व समय र पैसाको छ ।

तीज्, दशैं, तिहार जस्ता चाडहरु हिन्दु धर्मावलम्बी नेपालीहरुका भावना सँग जोडिएका चाड हुन् । सांस्कृतिक रुपमा यी पर्वको महत्व आफ्नो ठाउँमा होला, तर जब यी पर्व मानविय भावना सँग जोडिएर आउँछन्, परदेशको दशैं झनै टिठलाग्दो प्रतित हुन्छ । सामाजिक सन्जालमा देखिने फोटो र भिडियोहरु जस्तो रहरलाग्दो पक्कै हुँदैन। हो, यहाँ पैसाले पाइने सबथोक पाइन्छ, तर घरदेशको जस्तो दशैं परदेशमा कहां बाट पाउनु रु न यहां चर्खे पिङ्, न यहाँ लुठ्ठे पिङ । न यहाँ आमाको हातको सेल, न घरको खसिको मासु । न यहाँ हजुरबाको आशिस्, न यहाँ छोरछोरी-भान्जाभान्जिको हल्लिखल्ली । दशैं त आउँछ परदेशमा पनि तर आवरणमा मात्र ।

त्यसो त स्वदेशमा पिडा नै छैनन भन्ने अर्थ नलागोस् । तर देशको चौघेरो भित्र छु भन्ने आभाष नै पृथक हुन्छ यी भावनाले लपेटिएका चाडवाडहरुमा । काठमाडौँको सन्तान गाडीको टिकट नपाएर बा आमा भएको घर पुग्न नपाउनु, पाइहाले पनि त्रिशुली, सेती र कालीले निल्नु, चामल नपाउने कर्णालिवासीको दशैं, ढलेको घरको भग्नावशेष माथी बसेर भक्कानिने भुकम्प पिडितको दशैं, अरुले खाएको र रमाएको देखेर घुटुक्क थुक निल्ने बिपन्नहरुको दशैं। दशैं देशमै पनि कहालिलाग्दो छ । परदेशमा मन बुझाउन काम लाग्ने कारण पनि बन्दारैछन् राज्यका यी र यस्तै नालायकिपनहरु ।

परदेशमा दशैंको अर्को पाटो पनि छ । र त्यो पाटो चाहिने भन्दा चम्किलो र भड्किलो छ । यहाँ पनि हुने र नहुने बिचमा ठूलो खाडल छ । तीजमै जती त होइन, देखासिकिले परदेशी दशैंलाई पनि नराम्ररी गांजेको छ । त्यसको उदाहरण जुवा र तास अनि उखर्माउलो खानपिन नै हो ।

घट्स्थापना सुरु भए देखी काम वा व्यवसाय बाट बिश्राम लिएर जुवाको खाल जमाउनेहरुको जमात पनि छ परदेशमा, दशैं पार्टिको नाममा अनियन्तृत रमाइलो गर्दै आफु आफुमै लडाइं गर्ने जमात पनि छ परदेशमा, सम्बन्धित मुलुकको कानून उल्लङ्घन गर्दै सार्वजनिक ठाउँमा नेपालकै मानमर्दन गर्नेको जमात पनि छ परदेशमा । यी र यस्तै केही विकृतिको प्रभाव सामाजिक सन्जाल मार्फत देश सम्म परदेश बाट नै परिरहेको हुन्छ ।

हाम्रा आचरण जे जस्ता भए पनि दशैं आउनुको आभाष मात्र पनि प्रिय हुन्छ परदेशमा । त्यो आभाष भित्र बिगतका सम्झना र आगतका कल्पनाको मिठो सम्मिश्रण हुन्छ । हरेक परदेशी कुनै कुनामा सुटुक्क आंशु पुछ्दै सोंचिरहेको हुन्छ होला,”मैले खुन पसिना एक गरेर पठाइदिएको मोबाइल बाट निधार भरी टिका लगाएको परिवारको फोटो खिचेर पठाए है प्रिया, बा, आमा तिम्रो र छोराछोरिको हँसिलो तस्विर देखेर म धित मरुन्जेल रुन पाऊँ ।”

तस्विर र कथा नमिलेको चलचित्रमा गीत बजिरहेको हुन्छ, “यसपाली त यस्तै भो आमा अर्को साल आउंला म दशैंमा” ।