१२ वैशाख, एजेन्सी।

अमेरिकाको परमाणु-पावर्ड (परमाणु उर्जाबाट चल्ने) पनडुब्बी दक्षिण कोरियाको बुसान स्थित नेभी बेस पुगको छ। आज मंगलबार उत्तर कोरियाली सेनाको ८५ औँ वार्षिकोत्सवमा मिसाइल लञ्च वा परमाणु परीक्षण हुनसक्ने सम्भावना मध्यनजर गर्दै अमेरिकाले आफ्नो शक्ति प्रदर्शन गरेको हो।

अमेरिकाको एअरक्राफ्ट क्यारिअर उत्तर कोरिया तर्फ बढीरहेको समयमा दक्षिण कोरियाबाट युएसएस मिचिगन पनडुब्बीको यो ‘पोर्ट कल’को खबर आएको हो।  उत्तर कोरियाले परमाणु कार्यक्रम रोक्न इन्कार गरेको विषयमा छलफल गर्न आजै दक्षिण कोरिया, जापान र अमेरिकाका उच्च दूतहरु जापानको टोकियोमा छलफल गर्दैछन्।

यो पढ्नुस्: ‘अमेरिका प्रहार गर्न उत्तर कोरियाली मिसाइल लञ्चरमा तयारी अवस्थामा’

जापानी संसदका प्रमुख सचिव योसिदे सुगाले आजै चिनियाँ परमाणु दुत वु दवइले पनि जापानी विदेशमन्त्रालयका अधिकारीहरुसंग छलफल गर्ने बताएका छन्। वुले भोली आफ्ना जापानी परमाणु समकक्षीसंग भेटगर्ने पनि बताइएको छ।

उत्तरी एसियामा बढेको गतिविधिसंगै अमेरिका विदेशी मन्त्री रेक्स टिलरसनले सोमबार भनेका छन्, ‘उत्तर कोरियाको विषयमा शुक्रबार संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को विशेष मिटिङ बोलाइएको छ।’

उनीसंगै रक्षा सचिव जिम म्याटिस, नेशनल इन्टिलिजेन्सका निर्देशक डान कोट्स र जोइन्ट चिफ प्रमुख जनरल जोसेफ डुनफोर्ड पनि यो मिटिङमा भाग लिनेछन्।

सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया विश्वव्यापी खतरा भएको र यो समस्या अन्तत: हामीले नै समाधान गर्नुपर्ने भन्दै प्योङयांगलाई संयुक्त राष्ट्रसंघले अझै कडा प्रतिबन्ध लगाउनुपर्ने बताएका थिए।

उत्तर कोरियाले छैटौँ परमाणु परीक्षण गर्छ भनी अमेरिकी र दक्षिण कोरियाली अधिकारीहरु केही समय देखि चनाखो छन्। सेनाको वार्षिकोत्सव पारेर आज उत्तर कोरियाले परीक्षण गर्ने सम्भावना उच्च बताइएको छ।