३१ चैत, एजेन्सी।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाबीच बढेको तनावकाबीच शनिबार आफ्नो राष्ट्रिय दिवस ‘डे अफ द सन’ को दिन उत्तर कोरियाले परमाणु बम डेटोनेट गर्न तयारी थालेको अमेरिकी अधिकारीहरुले बताएका छन्।

उत्तर कोरियाली सरकारले देशमा रहेका विदेशी पत्रकारहरुलाई ‘ठूलो घटना’को लागि तयार रहन बिहिबार आदेश दिएको छ। उत्तर कोरियाले आफ्नो परमाणु परीक्षण क्षेत्र ‘पुनगी-री’मा एक सुरुङ भित्र परमाणु बम राखेको अनुमान गरिएको छ।

आफ्नो शक्ति देखाउन ट्रम्पले अमेरिकी नेभीको एक समुह प्रशान्त महासागरको पश्चिम तर्फ पठाएपछि तनाव बढेको हो। उत्तर कोरियाले अमेरिकाले कुनै गतिविधि गरे परमाणु आक्रमण गर्ने चेतावनी दिइसकेको छ।

अप्रिल १५ (शनिबार) उत्तर कोरियाले सबैभन्दा महत्वपूर्ण दिन मान्छ। यो दिन उत्तर कोरियाका स्थापक राष्ट्रपति किम इल सुङको जन्म दिन हो।

उत्तर कोरियाले जन्मदिनको तयारी थाल्दै गर्दा अहिले त्यहाँ करिब २०० विदेशी पत्रकार छन्।

अधिकारीहरुले भने ‘ठूलो घटना’ कस्तो प्रकृतिको हो कुनै जानकारी दिएका छैनन्। अघिल्ला वर्षहरुमा पनि घोषणा गरेर उत्तर कोरियाले स-सना कार्यक्रममै सिमित रहेर कार्यक्रम आयोजना गरेको थियो।

जस्तो सन् २०१६ मा विदेशी पत्रकारहरुले उत्तर कोरियाको घोषणाबारे खुबै अनुसन्धान गरे तर अन्तमा उत्तर कोरियाले एक पप कन्सर्ट गरेको थियो।

वासिङ्टनमा रहेको एक वेबसाइट जसले उत्तर कोरियाको गतिविधि नियाल्दै आएको छ, एक रिपोर्टमा भनेको छ, ‘ अघिल्लो ४ हप्ता देखि पुनगी-री परमाणु परीक्षण केन्द्रमा अस्वभाविक रुपले गतिविधि बढेको छ।’

अप्रिल २ मा खिचिएको स्याटेलाइट तस्बिरमा चार पटक परमाणु परीक्षण भइसकेको सो सुरुङको एक द्वारमा गतिविधि बढेको देखिएको थियो। उत्तर कोरिया आफ्नो छेटौं परमाणु बम परीक्षणको लागि तयार रहको केही समय देखि खबरहरुमा आइरहेका छन।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिन पिङलाई उत्तर कोरियाको समस्या समाधान गरे चीनलाई फाइदा पुग्ने गरि व्यापार सम्झौता गर्ने बताएको बारे ट्विट गरेका छन्। चिनियाँले सहयोग गरे राम्रो, यदि नगरे अमेरिका आफैले यो समस्या समाधान गर्ने ट्रम्पले बताएका छन।

यो पढ्नुस्।
परमाणु क्षमता भएको ३ रुसी बमर जापान नजिक उड्यो, जापानको १४ फाइटर विमान तयार