११ कात्तिक, काठमाडौँ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि गोकर्णेश्वर नगरपालिका–४ मा रहेको राष्ट्रिय शहीद तथा शान्ति स्मारकमा घोडचढी यात्राको व्यवस्था गरिएको छ ।

स्मारक कार्यालय, भ्याली भ्यू रेस्टुराँ र वाइल्ड हर्स स्टेबलको सहकार्यमा शुरु गरिएको घोडचढी यात्राको आज शुभारम्भ गरियो । शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत निर्माण भइरहेको स्मारक क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि यो सेवा शुरु गरिएको हो ।

यस व्यवस्थाले उपत्यकाको दृश्यावलोकन गर्न सकिने रमणीय यज्ञडोल (जगडोल) सामुदायिक वनको ६५० रोपनी क्षेत्रमा निर्माण भइरहेको स्मारक क्षेत्रमा घुम्न जाने पर्यटकले घोडा चढ्न पाउने भएका छन् ।

स्मारक निर्माण क्षेत्रको ६५० रोपनी क्षेत्र घुमेको शुल्क रु ५० तोकिएको आज आयोजित कार्यक्रममा स्मारकका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए ।