२८ कात्तिक, काठमाडौं ।

पशुपति क्षेत्र विकास कोषले यस बर्षको बालाचतुर्दशीको तयारी पुरा भएको जनाएको छ । कोषले मंगलबार पशुपति परिसरमा पत्रकार सम्मेलन गर्दे बालाचतुर्दशी पर्वमा सुरक्षा, भक्तजनको बस्ने व्यबस्था लगाएतको तयारी पुरा भएको जानकारी दिएको हो ।

आगामी कार्तिक तीस गते बिहीबार साँझ पितृहरुको सम्झनामा रातभर दिप प्रज्वलनगर्ने र भोलीपल्ट मंसिर एक गते बिहान सतबीज छरेर बालाचतुर्दशी मनाइदै छ । शतबीज छर्ने दर्शनार्थीको लागि आवश्यक सुविधा र सुरक्षाको व्यवस्था गरिएको कोषले जानकारी दिएको हो ।

दर्शनार्थीको सुविधाको लागि कैलाश, हंशमण्डप, राममन्दिर, पर्यटक दर्शनस्थल लगायत ८ स्थानमा नेपाली सेनाको सहयोगमा पालको व्यवस्था गरिएको कोषले जनाएको छ । कोषले बिभिन्न स्थानमा घुम्ती शौचालयतथाबनकाली क्षेत्र, भण्डारखाल र सिफल क्षेत्रमा सवारी पार्किङको व्यबस्था गरेको जनाएको छ ।

पितृहरुले सद्गतिप्राप्त गर्छन् भन्ने मान्यतामा आमाबाबुको नाममा बिभिन्न सात थरी अन्न मिसाईएको सतबीज छर्ने परम्परा छ । उक्त दिन पशुपति मन्दिरमा देशका विभिन्न ठाउँ सहित भारतबाट समेत भक्तजन पुग्ने गर्दछन ।