१७ फागुन, कञ्चनपुर । भारतीय राजदूत जयन्त प्रसाद सिंहले पश्चिमी सीमा नाका शारदा व्यारेजको पुल चौबिसै घण्टा खुला गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कञ्चनपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले शारदा व्यारेजको जीर्ण पुलमा मालवाहक गाडीहरु सञ्चालन हुन नसक्ने भएकाले नयाँ पुल निर्माणका लागि उपयुक्त क्षेत्र छनोट गरी दुबै मुलुकका उच्चस्तरीय पदाधिकारीको सहमतिमा पुल निर्माण गरिने बताए।
उनले नयाँ पुल निर्माण भएपछि दुवै देशको व्यापारमा सहजता आउने बताए । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष गणेश दत्त जोशीले भारतीय सुरक्षाकर्मी एसएसबीले व्यापारी र सर्वसाधारणमाथि गर्ने ज्यादतीबारे राजदूत सिंहलाई अवगत गराएका थिए ।
राजदूत सिंहले महाकाली नदीमा बनेको एसियाकै नमूना मल्टीस्पान झोलुङ्गे पुलको पनि अवलोकन गर्नु भयो। आज उनले टनकपुर बाँधको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ।
भारतको रु नौ करोड सात लाख सहयोगमा विद्यालय, हुलाकी मार्ग र सडकका सात वटा परियोजना सञ्चालन भइआएकामा छ वटा सम्पन्न भइसकेका छन्। रासस