१३ असार, चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोला नजिक साढे दुईकिलो भन्ने स्थानमा पहिरो गएपछि आज बिहान ७:३० बजेदेखि अवरुद्ध भएको सडक केही समय अगाडि खुलेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार गत शुक्रबार बिहान पहिरो खसेको ठाउँमा पुनः पहिरो गएको थियो । उक्त ठाउँमा गत शुक्रबार बिहान १:०५ बजेको समयमा पहिरो खसेर प्रहरीको भ्यानसहित चार प्रहरीलाई पुरेको थियो । तीन प्रहरीको मृत्यु भएको छ भने एक अझै बेपत्ता छन् ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सिमसिम पानी परेको तर पहिरो ठूलो नभएकाले तुरुन्तै खोल्न सकिएको हो । सो सडकको अवस्थाको बारेमा आजै संसदीय विकास समितिले अनुगमन समेत गर्नेभएको छ । रासस