१ जेठ, काठमाडौं ।

जनताको उत्साहजनक सहभागितामा सम्पन्न भएको पहिलो चरणको निर्वाचनलाई दलका शीर्ष नेताहरूले ऐतिहासिक उपलब्धि भनेका छन् । प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लामा पहिलो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्वक सम्पन्न भएपछि दलहरूले ऐतिहासिक भन्दै संविधान कार्यान्वयनको खुट्किलो भएको प्रतिक्रिया दिएका हुन् । पहिलो चरणपछि अब दोस्रो चरणको निर्वाचनका लागि बल प्रदान गरेको प्रतिक्रिया पनि दलहरूको छ ।

संविधान कार्यान्वयनका लागि ऐतिहासिक सफलता : उपराष्ट्रपति
पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनलाई उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान कार्यान्वयनको ऐतिहासिक सफलता भएको बताएका छन् । उल्लासपूर्ण रूपमा प्रदेश नम्बर ३, ४ र ६ मा निर्वाचन भएपछि पुनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘संघीय शासन व्यवस्थामा रहेको तीन तह संघ, प्रदेश र स्थानीयमध्ये स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न हुनु संविधान कार्यान्वयनका लागि ऐतिहासिक सफलता हो ।’

नेपाली जनताको लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त नयाँ संविधान कार्यान्वयनको ऐतिहासिक खुट्किलो भन्दै पुनले स्थानीय तहको पहिलो चरणको निर्वाचन मतदाताहरूको भव्यतम सहभागिता र उल्लासमय वातावरणमा सम्पन्न भएको उल्लेख गरेका छन् । यस दिनलाई नेपालीको गौरवपूर्ण दिन भनेका छन् । निर्वाचनले लोकतन्त्रलाई सुदृढ गर्नुका साथै समृद्धिको ढोका खोल्नेसमेत उनले विश्वास गरेका छन् । सरकार, राजनीतिक दलहरू आपसी संवाद, सहमति र सहकार्यको माध्यमबाट समस्या समाधान गर्दै दोस्रो चरणको निर्वाचनमा जुट्नेमा उनले विश्वास व्यक्त गरेका छन् ।

राजपा र नयाँ शक्तिको प्रतिक्रिया
राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले पहिलो चरणको निर्वाचन भएकोप्रति कुनै प्रतिक्रिया नभएको भन्दै दोस्रो चरणको निर्वाचनमा आफूहरूको चासो रहेको बताए । ‘२० वर्षपछि पहिलो चरणको निर्वाचन भयो, तर यसमा हाम्रो कुनै प्रतिक्रिया छैन,’ महतोले भने, ‘हामीलाई केही ठाउँमा भाग लिनबाट वञ्चित गरियो । अब मधेस आन्दोलनको जायज माग पूरा गरिनुपर्छ । संविधान संशोधनको विषय, जनसंख्याका आधारमा स्थानीय तहको संख्या बढाउने, मुद्दा फिर्ताजस्ता काम गरेर दोस्रो चरणको निर्वाचनलाई सफल बनाउन लाग्नुपर्छ ।’

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले स्थानीय तहको पहिलो निर्वाचनलाई ऐतिहासिक भनेका छन् । गोरखामा मतदान गरेपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै भट्टराईले स्थानीय तहको निर्वाचन समृद्ध नेपाल निर्माणको आधार बनोस् भन्ने प्रतिक्रिया व्यक्त गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोग र पर्यवेक्षकले कस्तो देखे निर्वाचन ?

राष्ट्रिय मानवअधिकार आयोग र पर्यवेक्षण गर्ने संघसंस्थाले निर्वाचनलाई उत्साहपूर्ण रहेको बताएका छन् । मतदान प्रक्रिया अत्यन्त उत्साहपूर्ण तथा शान्तिपूर्ण रूपले सम्पन्न भएको भन्दै आयोगले नागरिक, सुत्केरी, अपांगता भएका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको जनाएको छ । अनुगमनका क्रममा मतदाताहरू तीनचार घन्टा हिँडेरै मतदान गर्न आएको र महिलाहरूको उल्लेख्य सहभागिता रहेको आयोगले जनाएको छ । आयोगले अध्यक्ष अनुपराज शर्मा नेतृत्वको उच्चस्तरीय अनुगमन टोली तथा ३४ वटै जिल्लामा ४२ वटा अनुगमन टोली खटाएको थियो ।

निर्वाचन पर्यवेक्षण गर्दै आएका संस्थाहरूले प्रदेश नम्बर ३, ४ र ६ का ३४ वटा जिल्लामा भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रहेको जनाएका छन् । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले सबै मतदान केन्द्रमा खटिएका पयवेक्षकले दिएको प्रारम्भिक प्रतिवेदनका आधारमा स्थानीय तहको पहिलो चरणको निर्वाचन केही स्थानमा भएका छिटफुट घटनाबाहेक शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जनाएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।