बोमलाल गिरी

८ जेठ, काठमाडौं।

हुनत पहिलो चरणको पुरै नतिजा आइसकेको छैन । अनि दोस्रो चरण अहिले पनि अन्यौलताको घेरामै छ । त्यसैले समग्रतामा स्थानीय तहको चुनावको समीक्षा गर्न अलि छिटो हुन सक्छ । तर अहिलेसम्म आएको चुनावी नतिजालाई मध्यनजर गर्दै केही टिप्पणी गरौं यो चुनावको नाफा घाटा केलाऔं ।

अहिलेसम्म प्राप्त पहिलो चरणको नतिजाले नेकपा एमालेलाई सबैभन्दा ठूलो शक्तिको रुपमा स्थापित गराउने लगभग निश्चित नै छ । पछिल्लो चरणको निर्वाचन र त्यो निर्वाचनमा मधेस केन्द्रीत शक्तिलाई थाती राखेर हेर्ने हो भने एमालेलाई टक्कर दिने दल नेपाली कांग्रेस भएको छ ।

स्थानीय तहमा एमालेको पक्कड राम्रो नै मानिन्छ । र त्यही अनुसारको मेहनत पनि एमालेले गरेको छ । हुनत देखावटी रुपमा होस् वा आन्तरिक रुपमा, अहिलेको नतिजाप्रति एमाले सन्तुष्ट देखिँदैन । एमालेले चलाएको मेचि–महाकालि चुनावी अभियान, संगठनात्मक संरचना र कार्यकर्ताको सकृयता अनुसार त्यो चित्त दुखाईलाई सहज पनि मान्न सकिन्छ ।

एमालेको चुनावी नारा असफल
चुनावअघि अरुलाई होच्च्याइएको एमालेको चुनावी नाराले भने सफलता पाउन सकेन । एमालेको नारा थियो, ‘यसपालिको चुनावमा सात सूर्य सात छाप, कांग्रेस हाफ, माओवादी पत्तासाफ!’ यो नारा अनुसार न त कांग्रेस एमालेको हाफ नै भयो न त माओवादी पत्तासाफ नै ।

पहिलो चरणको नतिजाले संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई दोस्रो ठूलो दलको कित्तामा उभ्याइदिएको छ, जो उसका लागि चुनौतीको विषय भएको छ । तर माओवादीलाई चुनाव अघि धेरैले पत्तासाफ हुने अनुमान गरिरहेका थिए, त्यो विश्लेषण पूर्णतः गलत सावित भएको छ । प्राप्त नतिजाले स्वयं माओवादीलाई समेत आश्चर्यचकित पारेको हुनुपर्छ । किनकी यो नतिजालाई माओवादीले अनपेक्षित नभनी अपेक्षाकृत भनेको छ ।

चुनावले नाफा घाटा कस्लाई ?
सफलतापूर्वक चुनाव सम्पन्न भएर नतिजा प्रायः आइसकेको अवस्थामा यसका फाइदा वेफाइदा केलाउने जमर्को गरौं । आगामी जेठ ३१ गते हुने ४ वटा प्रदेशमध्ये तराई मधेसका प्रदेशमा एमालेलाई हेर्ने दृष्टिकोण त्यति राम्रो छैन भनिन्छ, त्यो नतिजाले ठूलो दलको हैसियत कस्लाई दिने हो अहिले नै भन्दा ‘वायस’ हुन सक्छ । त्यसैले आगामी चुनावलाई अहिले नछोऔं ।

पहिलो चरणको मतपरिणामका आधारमा भन्दा जनमतका हिसावले एमालेलाई फाइदा त भएको छ नै । मुख्य शहरहरुमा पराजित हुने अवस्थाले कांग्रेसले ठूलो नोक्सानी व्यहोर्ने देखिन्छ । अहिलेको संसदको चौथो ठूलो दल, अझै दुई पार्टीको एकताबाट झन ठूलो भएर चुनावमा होमिएको राप्रपा एउटा गाउँपालिकाको अध्यक्षमा खुम्चिना पर्दाको पीडा सायद राप्रपालाई जति अरु कसैलाई भएको छैन ।

माओवादीबाट टुक्रिएर नयाँ शक्तिको रुपमा स्थापित हुन खोज्दै गरेको बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीलाई पनि अस्तित्व जोगाउनै मुस्किल पर्यो । यी त चुनावी नतिजाका आधारमा भएको नाफा घाटाको कुरा भए । अब कुरा गरौं नेकपा माओवादी केन्द्रको अनि त्यो पार्टीका अध्यक्ष एवं अहिलेका प्रधानमन्त्री प्रचण्डको ।

अनुमान गरिए अनुसार पत्तासाफ नहुनु र केही रणनीतिक कार्यहरुले अहिले प्रचण्डको उचाई उच्च भएको छ भन्ने अनुमान सायद गलत हुने छैन । केही तथ्यहरुलाई हेरौं ।

चुनावको केही दिनअघिसम्म पनि प्रचण्डलाई ढुलमुले चरित्रको व्यक्ति भनेर चित्रण गरिन्थ्यो, त्यसलाई चिर्न प्रचण्ड सफल भएका छन् । चुनावको केही दिनअघिसम्म पनि चुनाव हुन्छ कि हुन्न भन्ने आम चिन्ताको विषयलाई चिर्दै प्रचण्ड आफ्नो अडानलाई स्थापित गराउन सफल भए । र अब भने उनि अडान पनि लिनसक्ने नेताका रुपमा रुपान्तरित भएका छन् ।

प्रचण्डका पाँच छलाङ
मुलतः चुनाव सहित प्रचण्डले तीन किसिमका छलाङ मारेको देखिन्छ । पहिलो, चुनाव टार्न र संविधान कार्यान्वयन नगर्न यो सरकार बनाइएको आरोपलाई उनले फिक्का बनाइदिएका छन् । चुनाव गराउन देखाएको दृढताले अन्तराष्ट्रिय समुदायमा उनी सहित नेपालको राम्रो छवि प्रसारित भएको छ । राष्ट्रिय स्तरमा पनि क्षेत्रीय दलहरुको बार्गेनिङले मात्र आफू नगल्ने सन्देश गएको छ ।

दोस्रो, यो सरकार चीनसंगको सम्झौता विरोधी भन्ने आरोपलाई वान बेल्ट, वान रोड (ओबोर) मा हस्ताक्षर गरेर निष्तेज पारेका छन् । प्रचण्डले भारत र चीनलाई पूर्व प्रधानमन्त्रीहरुले भन्दा थप सन्तुलित गरेको पनि देखिन्छ । चीनसंग सम्झौतामा हस्ताक्षर हुँदा पनि भारतले खुलेर असन्तुष्टी जनाउन सकेको छैन । भारत चिढिएको पनि देखिएको छैन । चीन नेपालसंग थप आश्वस्त भएको बुझ्न सकिन्छ ।

तेस्रो, २० वर्षसम्म हुन नसकेको चुनाव गराएर, त्यसमा पनि मुलक संघीयतापछि पहिलो पटक सफल रुपमा चुनाव गराउन सफल भएर प्रचण्डको हाइट नै उच्च भएको देखिन्छ । यो उचाई त्यति बेला झन् उच्च हुनेछ जतिबेला दोस्रो तहको निर्वाचन पनि सफल र भब्य रुपमा सम्पन्न हुनेछ । त्यतिञ्जेल प्रधानमन्त्रीको पदमा नरहेपनि उनको भूमिका महत्वपूर्ण हुनेछ ।

चौथो, उनको पार्टीले अहिलेसम्म ४६ वटा गाउँपालिकामा जित निकालेको छ । यो नतिजा माओवादीले आँकलन गरेभन्दा पनि बढी हो । त्यसैले पार्टीलाई सम्मानजनक स्थानका साथ पार्टीलाई नयाँ दिशा दिन पनि उनी सफल भएको देखिन्छ ।

र अन्त्यमा, उनको भूमिका अझै बाँकी छ, जतिबेला दोस्रो चरणको निर्वाचन सम्पन्न हुनेछ त्यतिबेला उनको मूल्यांकन सहि हुनेछ । किनकी प्रचण्डले मधेसी मोर्चासँगको सम्बन्धमा विस्तार गरेका छन् ।

मोर्चाका नेताले संविधान संसोधन मार्फत आफूहरुका माग सम्बोधन हुनेमा सबैभन्दा बढी प्रचण्ड माथि नै आशावादी भएका छन् । यसरी मोर्चाको पनि मन जितेर दोस्रो चरणको चुनाव सम्पन्न भएमा प्रचण्ड साँच्चीकै प्रचण्ड सावित हुनेछन् । बाँकी प्रतिक्षाको विषय ।