२४ मंसिर, दाङ । दाङमा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्यक्रिया भएको छ ।

दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा दाङ सैघा गाविस– ५ की ४२ वर्षीया चन्द्रकला थापामगरको स्तनको सफल शल्यक्रिया भएको अस्पतालका डा. रमेश बस्नेतले जानकारी दिए ।

breast-cancer-112527016

दुई महिनादेखि स्तनक्यान्सरबाट ग्रसित थापामगरको सफल शल्यक्रिया गरिएको उनको उपचारमा संलग्न डा. बस्नेतले बताए ।

जिल्लामै क्यान्सर रोगको सफल उपचार हुन थालेपछि जिल्ला तथा राप्तीमा रहेका क्यान्सररोगी चितवन, काठमाडौँ र भारत जानु पर्ने अवस्थाको अन्त्य भएको राप्ती उपक्षेत्रीय अस्पताल प्रशासनले जनाएको छ ।

क्यान्सर रोगको उपचारमा आवश्यक पर्ने प्रयोगशाला र किमो थेरापीको व्यवस्था यहाँ नहुँदा क्यान्सर रोगीलाई समस्या पर्ने गरेको चिकित्सकको भनाई छ ।

अस्पतालका शल्यचिकित्सक रमेश बस्नेत, रामपुकार शाह र स्टाफ नर्ससहित चार जनाको टोलीले थापामगरको क्यान्सरको सफल शल्यक्रिया गरेको जनाएको छ । शल्यक्रियापछि उनलाई अहिले घर पठाइएको छ । रासस