१५ मंसिर, कालीकोट।

नेकपा माओवादीका प्रवक्ता तथा पूर्वमन्त्री खडकबहादुर विकले पहिलो संविधानसभा नेपाली जनताको पक्षमा भएकाले यसको हत्या भएको बताएका छन् ।

नेकपा माओवादी, कालीकोटले मंगलबार यहाँ आयोजना गरेको जनसभालाई सम्बोधनका क्रममा उनले सो कुरा बताउनु भएको हो ।

सभालाई सम्बोधन गर्दै नेता विश्वकर्माले जनताको पक्षमा पहिलो संविधान सभामा वर्गीय तथा जातीय, क्षेत्रीय, लैङ्गिक हिसाबले पक्षपोषण गर्नेहरुको संविधानसभामा प्रतिनिधित्व रहेका कारण विदेशी डिजाईनमा विघटन नभई हत्या भएको दाबी गरेका छन् ।

पछिल्लो समयमा देशमा मौलाएको भ्रष्ट्राचार, राष्ट्रघातले सीमा नाघेकाले सबैको हितमा सबै वर्गलाई समेटेर नेपाली जनताका पक्षमा एकीकृत जनक्रान्तिनै अन्तिम विकल्प भएको दाबी गर्दै नेता विश्वकर्माले व्यापक जनसहभागितामा नेपाली जनताले आफैँ नउठ्दासम्म कुनै पनि प्रकारका अन्तरविरोधहरु हल नहुने बताएका छन् ।

आफूहरु विगतको जनयुद्धजस्तै जङ्गल नजाने बरु जनताका उचित मागहरुलाई लिएर निरन्तर अघि बढ्ने बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्का नेता केन्द्रीय सदस्य भरत बमले जनताका नाममा आएको विकास लगायतको रकममा भ्रष्टाचार गर्नेहरुलाई कडा कारबाही गर्नुपर्ने बताए ।

जनसभामा सहिद परिवार तथा कर्णाली अञ्चलको पहिलो भूमिगत महिला काशिपुरा शाहीले जनयुद्धताका बोलेका कुरा अहिले पुरा नभएकाले धोका हुने काम नगर्न अनुरोध गर्दै शहिदका अधुरा सपना पूरा गर्नका लागि पार्टी नेताहरुलाई खुट्टा नकमाउन अनुरोध गरेका छन्।

जनसभामा हजारौँको सहभागितामा सामना परिवारका कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको लोकजङग शाहीले बताएका छन् । रासस