पाँचथर, ८ जेठ । नौं जनाको विभत्स हत्या भएको पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरूबोटेमा बुधबार दिउँसो केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले घटनास्थलको अनुगमन गरेको छ ।

प्रहरी उपरीक्षक उमा चतुर्बेदी नेतृत्वको टोलीले अनुसन्धानका लागि आवश्यक प्रमाण संकलन र स्थानीयसँग सोधपुछ गरेर फर्किएको छ । सँगै गएका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता एवं प्रहरी निरीक्षक अनिलकुमार पौडेलले आवश्यक प्रमाण संकलन गरिएको र त्यसको परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाइने बताए ।

प्रहरी टोलीले रगत लतपतिएको एउटा दापसहितको खुकुरी, हाफ पाइन्ट, तीन वटा टिसर्ट, एक जोर चप्पल र झोला फेला पारेको छ । यी सामानहरू मिक्लाजुङ गाउँपालिकाकै वडा नम्बर ८,दुर्दिम्बाको हंसारिस्थित मालबासे जंगलमो प्रहरीले फेला हो ।

जुन् ठाउँदेखि करिब १० मिनेटको दुरिमा धारिलो हतियार प्रहार गरी मारिएका बमबहादुर फियाकका कान्छा ज्वाँई मानबहादुर माखिम रूखमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । उनैले बमबहादुर फियाकसहित साढुदाई धनराज शेर्माको परिवारको सामूहिक हत्या गरेको हुन सक्ने प्रहरीकाे प्रारम्भिक अनुमान छ ।