७ माघ, काठमाडौं ।

विश्वभरका प्रहरीको छाता सङ्गठनका रूपमा रहेको इन्टरपोलको २३औँ एसिया क्षेत्रीय सम्मेलन अपराध नियन्त्रणका सम्बन्धमा पाँचबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । गत बुधबारदेखि सुरु भएको सम्मेलनले पारित गरेको पहिलो बुँदामा एसिया प्रशान्त क्षेत्रका लागि सन् २०१७ देखि २०२० सम्मको इन्टरपोलको रणनीति तय गर्ने उल्लेख छ ।

त्यसैगरी मानव बेचबिखन, बाल हिंसाजस्ता क्षेत्रमा संयुक्त कारबाही अगाडि बढाउने तथा एसियाली क्षेत्रमा सूचना सङ्कलन र आदानप्रदानलाई अझ बढी प्रभावकारी बनाउने सहमति भएको छ । आतङ्ककारी सङ्गठनको सम्बन्धमा विवरण सङ्कलन, आदानप्रदान, आतङ्ककारीको सम्पत्ति विवरण सङ्कलनलगायतका विषयमा सहकार्य गर्दै प्रहरीलाई बलियो बनाउने उल्लेख छ ।

ktm-interpol-meeting

सम्मेलनको समापन गर्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सम्मेलन उपलब्धिमूलक भएको विश्वास व्यक्त गर्दै अपराध नियन्त्रणका लागि अन्य मुलुकसँग सहकार्य गर्न नेपाल सरकार तयार रहेको बताउनुभयो ।प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरीका लागि सूचना आदानप्रदान र छलफलका लागि इन्टरपोलजस्तो निकाय अर्को नभएको बताए ।

सम्मेलनमा मानव बेचबिखन, बालबालिकाविरुद्ध हुने अपराध, सङ्गठित अपराध, सीमा सुरक्षा तथा व्यवस्थापन, सीमावर्ती अपराध, आतङ्कवाद, साइबर अपराध, वन्यजन्तुसम्बन्धी अपराधका विषयमा सम्मेलनमा छलफल भएको थियो । अर्को सम्मेलन दुई वर्षपछि इरानमा हुने भएको छ ।