३ असोज, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले संविधानअनुसार संघीय संरचनाको पहिलो खुट्किलोका रूपमा रहेको स्थानीय तह निर्वाचन गराउने संवैधानिक दायित्व निर्वाचन आयोगले पूरा गरेको बताएका छन् । तेस्रो चरणअन्तर्गत सोमबार प्रदेश २ को स्थानीय तह निर्वाचन सम्पन्न भएपछि आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त डा. यादवले भने, ‘संविधानअनुसार समयमै तीन चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा निर्वाचन आयोगले गर्व अनुभूति गरेको छ ।’

राजनीतिक सहमति कायम नहुँदा पटक-पटक सरेको प्रदेश २ को निर्वाचन व्यापक सहभागितासाथ शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनुले लोकतान्त्रिक अभ्यासलाई अगाडि बढाउन जनता दृढ र प्रतिबद्ध रहेको पुष्टि भएको डा. यादवले बताए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

दलहरूमा विकास भएको असल लोकतान्त्रिक संस्कार तथा दलका नेता-कार्यकर्ताको सुझबुझ र जिम्मेवारीपूर्ण व्यवहारले नेपालमा लोकतान्त्रिक अभ्यासको थालनी भएको उनले बताए । स्थानीय तहको निर्वाचन सरकार, निर्वाचन आयोग तथा राजनीतिक दल र उम्मेदवारका लागि पनि ठूलो उपलब्धि भएको उनले दाबी गरे ।

प्रदेश नं. २ को आठ जिल्लाका १३६ स्थानीय तहमा सोमबार सम्पन्न निर्वाचनमा ७३ प्रतिशत मत खसेको आयोगले जानकारी दिएको छ । पहिलो चरणअन्तर्गत प्रदेश नं.३, ४ र ६ का ३४ जिल्लामा वैशाख ३१ मा ७१ प्रतिशत मत खसेको थियो । त्यस्तै, दोस्रो चरणअन्तर्गत प्रदेश १, ५ र ७ का ३५ जिल्लामा असार १४ मा सम्पन्न निर्वाचनमा ७२ प्रतिशत मत खसेको थियो ।

तराईका आठ जिल्लामा बाढी-पहिरोका कारण आवागमनमा समस्या पैदा भए पनि निर्वाचन कार्य सहज रूपमा सम्पन्न गर्न सुरक्षाकर्मीले खेलेको भूमिकाको आयुक्त यादवले मुक्तकण्ठले प्रशंसासमेत गरे । मतदान कार्य सम्पन्न भएका मतदान केन्द्रबाट सबैै मतपेटिका सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य भइरहेको आयोगले जानकारी दिएको छ ।

मतदान कार्य सम्पन्न भई मतपेटिकाहरू सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि मतगणना प्रक्रिया अगाडि बढाइनेछ । केही जिल्लामा सोमबार रातिदेखि नै र बाँकीमा मंगलबार बिहानबाट मतगणना सुरु हुने आयोगले जानकारी दिएको छ ।मतगणना कार्य सुरु भएको पाँच दिनभित्र परिणाम आउने व्यवस्थापन मिलाइएको प्रमुख आयुक्त डा. यादवले जानकारी दिएका छन् ।