७ भदौ, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिने राजकीय भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा बिहान १० बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवा ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत भ्रमणमा हिडेका हुन् । नयाँदिल्लीमा भोली प्रधानमन्त्री देउवाले द्विदेशीय उच्चस्तरीय वार्तासहित भेटघाट र अन्य कार्यक्रममा सहभागिता जनाउने छन् ।

भ्रमण तालिकाअनुसार आज नयाँदिल्ली पुगेर राष्ट्रपति भवनमा केहीबेर विश्रामपछि उनले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नेछन् । आज बेलुकीनै प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

भोली बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक समारोहबीच स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि महात्मागान्धीको समाधिस्थलमा पुगेर देउवाले पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम तय भएको छ ।

भोलीनै प्रधानमन्त्री देउवासँग भारतका विदेशमन्त्री सुस्मा स्वराजले शिष्टाचार भेट गर्नेछिन भने त्यस लगत्तै हैदरवाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबीच वान टु वान भेटवार्ता हुनेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नायडूसंग शिष्टाचार भेट गर्नेछन् । प्रधानमन्त्री देउवा आउँदो आईतवार काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।