२९ भदौ, सप्तरी। जिल्लास्थित कानूनी सहायता केन्द्रले यस वर्ष ५३२ वटा मुद्दामा निःशुल्क कानूनी सेवा प्रदान गरेको छ ।

केन्द्रले गरिब, असहाय, अशक्त, द्वन्द्वपीडित र पीडित ज्येष्ठ नागरिकलाई निःशुल्क कानूनी सेवा प्रदान गर्ने कार्यक्रमअन्तर्गत ५३२ वटा मुद्दामा निःशुल्क कानूनी सेवा प्रदान गरेको जनाएको हो ।

केन्द्रद्वारा प्राप्त विवरणअनुसार २०७३÷७४ मा देवानीतर्फ १०२, फौज्दारीतर्फ ७१, ठाडो मुद्दा दर्तातर्फ ३५९ गरी कूल ५३२ मुद्दामा कानूनी सेवा प्रदान गरिएको उल्लेख छ ।

आगामी आवमा लक्षित समुदायलाई अझ बढी समेटिने र यसका लागि व्यापक प्रचारप्रसार र सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत भएको केन्द्रका अधिकृत रामप्रसाद गौतमले जानकारी दिए।

जिल्ला कानूनी सहायता समिति तथा सो केन्द्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा केन्द्रको सेवालाई अझ प्रभावकारी बनाइ विस्तार गर्दै जाने बताइएको छ । रासस