७ चैत, इस्लामावाद । पाकिस्तानका राष्ट्रपति असिफ अली जरदारीले बुधबार पाकिस्तानमा मे ११ मा निर्वाचन हुने घोषणा गरेका छन् । पाकिस्तानको ६६ वर्षको इतिहासमा पहिलो पटक प्रजातान्त्रिक रूपमा निर्वाचित एक सरकारले आफ्नो कार्यकाल पूरा गरी अर्को निर्वाचन हुने भएको छ ।
राष्ट्रपति जरदारीले आफ्नो गठबन्धनलाई पाँच वर्षका लागि स्थिर राख्न सफलता प्राप्त गरेका छन् । उनले संसदको कार्यकाल पूरा भइ विघटन भएपछि निर्वाचन मिति घोषणा गरेका हुन् ।
राष्ट्रपतिका प्रवक्ता फरहतुल्लाह बाबरले राष्ट्रपतिले मे ११ मा निर्वाचन हुने घोषणा गरेको जानकारी दिए ।
सन् १९४७ बेलायती उपनिवेशबाट स्वतन्त्र भएको तथा भारतसँग पृथक भएको पाकिस्तानले तीनपटक सैनिक विद्रोह भोगेको छ भने चार सैनिक शासकले यस मुलुकमा शासन चलाएका छन् । एक निर्वाचित नागरिक सरकारले अर्को निर्वाचित नागरिक सरकारलाई सत्ता हस्तान्तरण गर्न लागेको यो पहिलोपटक हो ।
यसो भए पनि तालिवान आक्रमण तथा अल्पसङ्ख्यक सिया मुसलमान समूहमाथि हिंसा भइरहेको अवस्थामा निर्वाचनको सुरक्षाका विषयमा आशङ्का गरिएको छ । पाकिस्तान आफैँमा पारमाणविक हतियारयुक्त मुलुक हो र यसको जनसङ्ख्या १८ करोड रहेको बताइएको छ ।
आउँदो निर्वाचनमा राष्ट्रपति जरदारीको पाकिस्तान पिपुल्स पार्टी तथा पूर्व प्रधानमन्त्री नवाज सरिफको प्रतिपक्षी पाकिस्तान मुस्लिम लिगले प्रमुख स्थान हासिल गर्ने अनुमान गरिएको छ । यस निर्वाचनमा पूर्व क्रिकेट खेलाडी इमरान खानले पनि पहिलोपटक निर्वाचनमा भाग लिनुहुने अनुमान गरिएको छ ।
पाकिस्तानको चार क्षेत्रहरूमा पनि पृथक निर्वाचन हुनुपर्छ । प्रान्तीय निर्वाचन कहिले हुने भन्ने सम्बन्धमा निर्णय भइनसकेको बताइएको छ । यसो भए पनि मे ११ मै उक्त निर्वाचन हुने अनुमान गरिएको छ ।
एक संसदीय समितिले शुक्रबारसम्म कामचलाउ प्रशासनको उम्मेदवार मनोनयन गर्नुपर्छ र यस सरकारले पाकिस्तानमा निर्वाचन गर्नुपर्छ । रासस/एएफपी