४ मंसिर, काठमाडौं । एशिया क्षेत्रको महिला टी ट्वेन्टी विश्वकप छनौट क्रिकेटमा नेपालले पहिलो खेलमा आयोजक थाइल्याण्डसँग अंक बाँडेको छ ।

वर्षाका कारण खेल प्रभावित भएपछि नेपालले अंक बाँड्न बाध्य भएको हो । टस हारेर पहिला ब्याटिङ्गमा आएको घरेलु टोलीले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ९० रन बनायो । जवाफी ब्याटिङ्गमा आएको नेपालले ३ दशमलब २ ओभरमा विना क्षति १० रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो ।

पानी नरोकिएपछि दुबै टिमले एक एक अंक बाँडेका हुन् नेपालकी सरीता मगरले दुई विकेट खसालीन् भने कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले समान १–१ विकेट लिए । आजदेखि एक हप्ता चल्ने प्रतियोगिताको बिजेता नेदरल्याण्ड्समा हुने ट्वान्टी ट्वान्टी विश्वकप छनौटमा पुग्नेछ ।

प्रतियोगिता अन्तर्गत नेपालले मंगलबार हङकङसँग खेल्नेछ । नेपालले  चीन, युएइ र मलेसियासँग पनि खेल्नेछ । राउण्ड रोबिनमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् भने बिजेताले विश्वकप छनौटमा प्रतिष्पर्धा गर्नेछ ।