२८ कात्तिक, काठमाडौं ।

लगातार २६ वर्षदेखि जित्दै आएका कांग्रेस नेता विजयकुमार गच्छदार ‘सगर्व’ भन्छन्, ‘मैले हजारौं व्यक्तिलाई सरकारी जागिर लगाइदिएको छु, मेरो निर्वाचन क्षेत्रमा धेरै विकास गरेको छु । मैले २५ वर्ष जनताको सेवामा बिताएको छु । त्यसैले मलाई मतदाताले माया गर्नुहुन्छ ।’

२०४८ देखि हरेक निर्वाचनमा विजयी गच्छदार सातौं पटक निर्वाचनमा प्रतिस्पर्धामा छन् । उनले आफ्ना क्षेत्रमा व्यापक विकासका काम गरेकाले कसैले पराजित गर्न नसक्ने दाबी गरे । वाम गठबन्धनबाट एमाले उम्मेदवार भगवती चौधरी दोस्रोपटक गच्छदारसँग प्रतिस्पर्धा गर्दै छिन् । उनी लघुवित्त संस्था सञ्चालक पनि हुन् । उनको लघुवित्तको जालो गाउँगाउँ फैलिएको छ । आजको कान्तिपुरमा खबर छ ।

२०७० को निर्वाचनमा ३ सय ६२ सय मतान्तरले विजयी भएका गच्छदारले यसपटक अझ सहज महसुस गरेका छन् । निर्वाचनका मुखमा कांग्रेससँग पार्टी एकता गरेकाले यो निर्वाचनमा सजिलो भएको बताए । ‘पार्टी एकता भएपछि अझ सजिलो भएको छ,’ उनले भने, ‘उहाँ (चौधरी) ठूलै पार्टीका उम्मेदवार भएकाले प्रतिस्पर्धा हुन्छ ।’

चौधरीले मतदाता गच्छदारविरुद्ध रहेको जिकिरसहित यसपालि आफूले जित्ने दाबी गरिन् । ‘गच्छदारले सुनसरी ३ मा आम जनताका लागि शिक्षा, स्वास्थ्य, रोजगारीमा कुनै काम नगरेकाले यसपटक म जित्छु,’ उनले भनिन् । जनताको आर्थिक उत्थान गर्ने एजेन्डा लिएर अघि बढेकाले जित सुनिश्चित रहेको दाबी चौधरीले गरिन् । उनलाई माओवादीले समर्थन गरेको छ ।