२८ असार, काठमाडौं ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण निर्देशक समितिले आगामी आर्थिक वर्ष २०७४–०७५ का लागि १ खर्ब ४५ अर्ब रुपैयाँको बजेट स्वीकृत गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले स्वीकृत गरेको उक्त बजेट एक आर्थिक बर्षमा पुननिर्माण गर्नका लागी मात्र भएको प्राधिकरणले जनाएको छ ।

बैठकले भूकम्पपछिको अहिलेसम्मको पुनर्निर्माणको समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा छलफल गरेको छ । बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी आर्थिक वर्षको कार्ययोजना पेश गरेको छ । कार्ययोजना स्वीकृत भएपछि पुनर्निर्माणले थप गति लिने प्राधिकरणले जनाएको छ ।

बैठकमा प्राधिकरणका सीइओ डा. गोविन्द पोखरेलले निजी आवास निर्माणलाई अभियानकै रुपमा अगाडि बढाइने र पुरातात्विक सम्पदा पुनर्निर्माणमा पनि समय तोकेरै अगाडि बढिने बताए थिए ।

उनले अहिलेसम्म ४० हजार निजी घर बनिसकेको र १ लाख १० हजार घर निर्माणाधीन रहेको जानकारी दिदै आगामी दशैंसम्ममा १ लाख ५० हजार घर बनिसक्ने उल्लेख गरे । बैठकपछि समितिका सदस्य तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्राधिकरणको काम सन्तोषजनक नभएको बताए ।

समितिले बैठकमा अहिलेसम्मको प्रगति सन्तोषजनक भएको भन्दै ५० प्रतिशत स्कुल तथा स्वास्थ्य केन्द्र पनि पुनर्निर्माण भइसकेको तथ्यांक प्रस्तुत गरेको छ ।