२८ साउन, चितवन । दुई दिनदेखि परेको अविरल वर्षापछि जिल्लाको दक्षिणी क्षेत्रमा रहेको माडीमा बाढी आएपछि चिताइ खोलाको पुल भत्किँदा भरतपुर माडी ठोरी यातायात सम्पर्क बिच्छेद भएको छ ।

बाढीले माडीका १६ घर पूर्णरुपमा क्षति भएका छन् । जिल्ला विपत् व्यवस्थापन समिति चितवनले आज गरेको अनुगमनका क्रममा १६ घर पूर्णरुपमा र ३०० घर आंशिकरुपमा क्षति पुगेको पाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

भट्टका अनुसार बाढीका कारण माडीको मुख्य सडकका दुईवटा पुलमा क्षति पुगेको छ भने १५ वटा माछा पोखरी बगाएको छ । तीन वटा खानेपानी ट्यांकी पूर्णरुपमा क्षति हुनुका साथै १२ स्थानमा खोलो रोक्न बनाइएको तटबन्ध भत्किएको समेत उनले बताए । गएराति रिउ नदी बढेपछि बस्तीमा पसेको थियो । जसले ठूलो मात्रामा धानबाली नोक्सान गरेको भट्टले बताए ।

अनुगमनपछि आयोजित अन्तक्र्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भट्टले माडीको विपत् व्यवस्थापनका लागि राष्ट्रिय निकुञ्जले हात्ती तयारी अवस्थामा राख्न र नेपाली सेनाको नेतृत्वमा उद्धार टोली माडीमा नै भदौसम्म राख्नका लागि निर्देशन दिएका छन ।

माडी नगरपालिकासँग समन्वय गरी विपत् व्यवस्थापन गर्नुपर्ने भन्दै उहाँले खाद्यान्न, भाँडाकुँडा, त्रिपाललगायतका अतिआवश्यक सामग्री रेडक्रससँग समन्वय गरेर पुग्दो मात्रामा राख्न र आगामी दिनमा हुनसक्ने विपत्का बारेमा जानकारी गराउनसमेत आग्रह गरेका छन । रासस