१७ मंसिर, काठमाडौ । भारतीय सीमासँग जोडिएको धनुषाको इनर्वा गाविसबाट पुसको तेस्रो सातादेखि रेल्वे विस्तार कार्य सुरू गरिने भएको छ । भारतको सहयोगमा जनकपुर–बदिर्वास रेल्वे सेवा विस्तार गर्न लागिएको हो ।

सेवा विस्तारका लागी दुई पटकसम्म सर्भेको काम पुरा भइसकेको छ भने मुआब्जा वितरणको कार्य पनि ९० प्रतिशत पुरा भइसकेको बताइएको छ । गत असोज महिनामा एक भारतीय निर्माण कम्पनीले ठेक्का लिएपछि रेल्वे सेवा बिस्तार हुने भएको हो । बिस्तारको सुरूवातमा माटो पुर्ने र पुल निर्माण कार्य गरिनेछ ।

ठेक्काको काम पूरा भइसकेको र निर्माण कार्यमा प्रयोग गरिने निर्माण सामग्री नेपाल ल्याउन भन्सार छुटका लागि अर्थ मन्त्रालयमा पत्र पठाइएको छ । भन्सार छुट पत्र प्राप्त भएको केही दिनभित्रै सामान ल्याएर काम थाल्ने तयारी रहेको जनाइएको छ ।