२८ साउन, काठमाडौं । लगातारको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने क्षेत्रमा सडक भासिएको छ ।

१८ घण्टादेखि पहिरोले अवरुद्ध सडक आज दिउँसो भासिएपछि यात्रुको विचल्ली भएको छ । दाउन्नेको एस मोड क्षेत्रमा सडक भासिएको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक टेक रावतले जानकारी दिए ।

७ मिटर जति सडक भासिएको उनले बताए । राजमार्ग नै भासिएपछि पहिरो पन्छाएर पनि बाटो खुल्न सक्ने अवस्था नरहेको उनको भनाई छ । यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न समेत उनले आग्रह गरेका छन् ।

बाटो अबरुद्ध भएपछि सवारीको लामो लाईन लागेको छ । दाउन्ने पूर्व र पश्चिम करीब १० किलोमिटरसम्म सवारीको लाम लागेको ईलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ । दाउन्ने आसपासका कम्तीमा १० ठाउमा साना साना पहिरो खसेको र घिउखोलामा पनि पहिरो खसेको छ ।