८ पुस, विराटनगर।
पूर्वाञ्चलमा आजदेखि सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य समारोहबीच औपचारिक रुपमा सुरु हुने भएको छ ।7th-national-sports-eastern-nepal-2

राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ३ बजे विराटनगरस्थित सहिद रङ्गशालामा विधिवत् रुपमा प्रतियोगिताको उद्घाटन गरेपछि पूर्वाञ्चलका १३ जिल्लामा प्रतियोगिताको शुभारम्भ हुनेछ ।

प्रतियोगिताको भव्य उद्घाटनका लागि सहिद मैदानलाई बेहुलीझैँ सिङ्गारिएको छ । उद्घाटनका अवसरमा पूर्वाञ्चलका सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिने तयारी गरिएको आयोजक समितिले जनाएको छ । मुलुकको पूर्वी नेपाल यतिखेर खेलकुदमय बनेको छ ।7th-national-sports-eastern-nepal-1

सो अवसरमा खेलाडीको स्वागतका लागि पूर्वाञ्चलका झापा, मोरङ र सुनसरीका मुख्य चौकमा स्वागतद्वार निर्माण गरिएको छ । खेलाडीका साथै प्रशिक्षक लगायतको बस्ने र खाने व्यवस्थासमेत सम्बन्धित जिल्लाका होटेलमा मिलाइएको छ ।

जम्मा ३० वटा खेलमा हुने प्रतिस्पर्धामध्ये सवैभन्दा बढी सुनसरीमा १२, मोरङमा १०, झापामा पाँच तथा सप्तरी, सिरहा र धनकुटामा एक–एकवटा खेलमा प्रतिस्पर्धा हुनेछ । साथै पूर्वाञ्चलमा पूर्वाधार नभएको कारणले ललितपुरको सातदोबाटोमा महिला-पुरुषको स्क्वास, काठमाडौँमा फेन्सिङ र कास्कीको पोखरामा महिला-पुरुष लनटेनिसको प्रतियोगिता हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले जानकारी गराएका छन् ।

तीसवटा खेलको प्रतियोगितामा तीनहजार नौसय ७२ जना खेलाडीको सहभागिता रहनेछ भने ती खेलाडीले दुई सय ९४ स्वर्ण, दुई सय ९४ रजत र चार सय ४७ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । रासस