२८ साउन, रौतहट ।

तिन दिन देखीको अविरल वर्षाका कारण झाँझ, बागमती र लाल बकैया नदीमा पानीको बहाव अत्याधिक भएर बाढी आउदा रौतहटका एक दर्जन गाँउ डुबानमा परेका छन । पूर्वमा रहेको बागमती नदीले मत्सरी, बेलबिछवा, पिप्रा रजबाडा, बडहरवा तटबन्ध र आसपासका खेतहरु कटान गरिरहेको छ । बेलबिछवा वडा नं. ४ मा रहेको तट्बन्धलाई वर्षाको पानीले पनि कमजोर बनाउदा, ठाँउठाँउमा भत्कीन थालेकोले बाढीले सजिलै सो स्थानबाट तटबन्धनै भत्काउने खतरा बढेको छ ।

यसैगरी पश्चीम तर्फको लाल बकैया नदीका कारण बन्जरहा, इनर्वा, लक्ष्मिनिया, मर्यादपुर, कटहरीया, बसन्तपट्टी, तेजापाकड मा पनि बाढीको त्राश बढेको छ । बाढीको पानीका कारण रौतहटको बन्जरहाको सडक सम्पर्क टुटेको छ । सदरमुकाम गौरको पूर्व र पश्चीम दुवै तर्फ रहेका दुई ठूला नदीहरुमा लगातार निगरानी भइ रहेको छ भने नदी किनारका बासिन्दालाई पनि सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ ।

“नदीको जलस्तरमा वृद्धि भइरहेकोले बाढीको खतरा छ ।” प्रहरी उपरिक्षक यज्ञ विनोद पोखरेलले भने “पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण बाग्मती र लाल बकैया दुवै नदी मा पानीको बहाव तिव्र छ । केही स्थानमा नदीले कटान गरेका खबर आएको छ ।” नदी किनारका बस्तीहरु उच्च जोखिममा रहेको उनले बताए । “यसै गरी चार घण्टा अझै पानी प¥यो भने स्थीति बिग्रन सक्छ । ” उपरक्षिक पोखरेलले भने “नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान तथा सामान, पशुचौपायालाई पनि अन्यत्र सुरक्षित गर्न आग्रह गर्दछौं ।”

पूर्व पश्चीम राजमार्ग बन्द

अविरल वर्षा पछि आएको बाढीका कारण पूर्व पश्चीम राजमार्गको बाग्मती पौराई सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।

राजमार्ग अन्र्तगत रौतहटको चन्द्रनिगाहपुर बागमती सडक खण्डको पौराइ जंगलमा रहेको दुइवटा लच्कामा बाढी आउदा गए राति देखि नै सवारी साधन रोकिएका छन ।

सन्तपुर, मैढा कटानीका बस्तीहरुमा पनि बाढी पसेको छ ।बाढीले राजमार्ग बन्द हुदा पाच सय भन्दा बढी गाडीहरु रोकिएको छन । जंगल भएका कारण संचार संम्पर्क नभएकाले हजारौ यात्रुहरु थप समस्यामा छन । अझै पनि पानी परीहेकाले राजमार्गमा बाढी घटेको छैन ।