७ फागुन, चितवन।
पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संविधान आए पनि सबै जातिको समानुपातिक प्रतिनिधित्व अझै सुनिश्चित् हुन नसकेको बताएका छन् ।

Baburam Bhattarai CA

फाइल तस्बिर

नेपाल कुमाल सुधार समितिको छैटौँं राष्ट्रिय महाधिवेशनको आज भरतपुरमा उद्घाटन गर्दै उनले समावेशी प्रतिनिधित्वका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

वर्तमान परिस्थितिको निकासका लागि राजनीतिक दलहरु सक्षम नरहेको भन्दै उनले यही ढङ्गबाट देश अगाडि नबढ्ने बताए । संविधान कार्यान्वयन हुन दलहरु नयाँ ढङ्गबाट सङ्गठित रुपमा अगाडि बढ्नुपर्ने भन्दै उनले नयाँ शक्ति निर्माण अभियान उत्पीडित, सीमान्तकृत र लोपोन्मुख जातिको उत्थानका लागि भएको बताए।

नयाँ शक्ति निर्माण अभियानका संयोजक समेत रहनु भएका भट्टराईले भने “उत्पीडित, सीमान्तकृत र लोपोन्मुख जातिको उत्थानका लागि पार्टी घोषणा भएदेखि नै हामी लागेका छौं ।”

अधिकारका लागि यी जातिहरू आफैँ सङ्गठित ढङ्गले लाग्नुपर्ने भन्दै उनले यो समुदायको उत्थान नभई देशको विकास हुन नसक्ने बताए।

पछाडि पारिएका जातिको उत्थानसँगै समग्र देशको विकास सम्भव हुने भन्दै उनले यसतर्फ कुनै पनि राजनीतिक दलले ध्यान पुर्याउन नसक्दा देश समृद्धितर्फ लम्किन नसकेको बताए।

दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । उद्घाटन कार्यक्रम नागेन्द्रकुमार कुमालको सभापतित्वमा सम्पन्न भएको थियो । रासस