१० भदौ, काठमाण्डौ ।

तराईमा जारी विभिन्न पक्षको आन्दोलनको प्रभाव पेट्रोलियम पदार्थहरुमा देखिन थालेको छ । पेट्रोल पम्पहरुमा सितिमिति तेल पाइदैन । नीजि पम्पहरुले त पेट्रोल डिजेल छैन भनेर ट्याग झुण्ड्याएका छन् । साझा र आर्मि प्रहरीहरुका पेट्रोल पम्पहरुमा उपभोक्ताको निक्कै लामो लाइन लागेको छ ।

तर नेपाल आयल निगमले भने बजारमा पेट्रोलियम पदार्थको अभाव नरहेको दाबी गरेको छ । अभाव हुने हल्लाले उपोभोक्ताहरुको पेट्रोल पम्पमा भिड् लाग्दा अभाव जस्तो देखिएको आयल निगमले दाबी गरेको छ ।

तराईका क्षेत्रमा जारी बन्दले पेट्रोलियम पदार्थको आयात प्रभावित भएपनि अभाव कै अवस्था नरहेको निगमले जनाएको छ । निगमका प्रवक्ता सिताराम पोखरेलले तेल ल्याउने क्रम नरोकिएको भन्दै अभावको हल्लाको पछि नलाग्न उपोभोक्तालाई आग्रह गरे ।

निगमले आज मात्रै काठमाण्डौंमा ४ लाख २५ हजार लिटर पेट्रोल पम्पहरुलाई उपलब्ध गराएको छ । काठमाडौंमा दैनिक ३ लाख लिटर पेट्रोलको माग छ । बजारमा माग बढेकाले थप १ लाख २५ हजार लिटर पेट्रोल पठाईएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

यसैगरी आज बजारमा ५ लाख ५५ हजार लिटर डिजेल पठाईएको निगमले जनाएको छ । बजारमा अभावको हल्लाले डिजेलको माग पनि बढेको निगमले जनाएको छ । अहिले भईरहेको आपूर्तिले तेलको माग धान्न ठूलो समस्या नरहेको निगम प्रवक्ता पोख्रेलको भनाई छ ।

रक्सौलबाट नेपालका लागि तेल भरेर हिँडेका ट्याङ्करलाई स्कर्टिङ गरेर नेपाल ल्याउन क्रम पनि जारी रहेको छ । हिजोराति मध्यमाञ्चल क्षेत्रीय प्रशासकको सक्रियतामा स्कर्टिङ गरेर तेल ट्याङ्करहरुलाई मकवानपूरको चुरे क्षेत्रसम्म ल्याईएको थियो ।

हिजो राति स्कर्टिङमा बारा र पर्साको राजमार्ग क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । अहिले ७९ वटा ट्याङ्कर तेल लिएर तराई क्षेत्रबाट हिँडेका छन् । बजारका पेट्रोलियम पदार्थको मुल्य घट्न सक्ने भएकाले पम्पहरुले कालो बजारी गर्न नसक्ने निगमको दावी छ ।