८ असोज, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रश्न उठेको छ ।

फाइल तस्बिर

फाइल तस्बिर

भारत भ्रमणबाट फर्किए लगत्तै केन्द्रीय कार्यालयको बैठकमा भारत भ्रमणको क्रममा नेपालको परराष्ट्र नीतिको बारेमा भारतसँग सल्लाह गर्ने संयुक्त वक्तव्यको नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले आपत्ति जनाएका थिए ।

केन्द्रीय कार्यालयमा विवाद भएपछि आज जारी सचिवालयको बैठकमा पनि नेताहरुले प्रचण्डको भ्रमणको विरोध गरेका छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण र अहिलेको समसामहिक विषयमा धारणा राखेपछि नेताहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकु शिविरमा भएको अनियमितता छानबिनको बारेमा पार्टीले चाल्ने कदम, संविधान संशोधनमा भइरहेको अलमल लगायतको बारेमा प्रश्न गरेका छन् ।

सचिवालयका एक नेताले भने, ‘प्रधानमन्त्रीले केही गल्ती गर्नु भएको छ, गल्ती गरेपछि विरोध हुनु स्वभाविक नै हो, आफूले गरेको गल्तीबाट उहाँ पन्छिन पाउनु हुन्न ।’

बैठकमा पार्टी एकतापछि भद्रगोल बनेको केन्द्रीय महाधिवेशन आयोजक समितिको बारेमा पनि छलफल भएको छ । एकताको नाममा सबैलाई आयोजक समितिमा राख्दा सँगै काम गरेको कार्यकर्ताको मनोबल पनि घटेको छ, ती सचिवालय सदस्यले भने ।

प्रचण्ड प्रधानमन्त्री भएपछि आगामी पुस २३ गतेबाट गर्ने भनिएको महाधिवशेन मिति अनिश्चिकालको लागि स्थगित गरेको छ । महाधिवेशन आयोजक समितिमा भद्रगोल भएपछि आयोजक समितिको विस्तारित बैठक समेत बस्न सकेको छैन् ।