२२ साउन, काठमाडौं। विजय चौधरी, राजु विश्वकर्मा र राजु मगर बाल्यकालदेखिका साथी थिए। हार्डवेयर पसल चलाउँदा चौधरीको आर्थिक अवस्था राम्रो भयो। अर्का साथी मगर उनकै हार्डवेयरमा काम गर्थेे। विश्वकर्मा मार्बलसम्बन्धी काम गर्थे।

बाल्यकालदेखिका साथी भएकाले चौधरीले यी दुवैसँग आर्थिक अवस्थाबारे कुराकानी गरिरहन्थे। यस बीचमा उनले काठमाडौंमा घडेरी पनि जोडेका थिए। साथीहरूसँगको कुराकानीमा ‘बैंकमा १५ लाख रुपैयाँ छ, चाहियो भने एक करोड सजिलै निकाल्छु’ भन्थे उनले।

मगर इमानदार थिए तर विश्वकर्मा धूर्त। सँगै हुर्किएको साथी आर्थिक रुपमा बलियो भए पनि आफ्नो अवस्था कमजोर भएकोमा उनी भित्रभित्रै आरिस गर्थे। २ श्रीमती भएकाले परिवारको दैनिकी चलाउन हम्मे नै थियो उनलाई।

पैसा अभाव हुँदा विश्वकर्मा चौधरीले भनेको ‘चाहियो भने एक करोड सजिलै निकाल्न सक्छु’ कुरा सम्भि्कहाल्थे। त्यही भनाइ सम्झेर विश्वकर्माले आफ्नो आर्थिक अभाव हटाउन चौधरीलाई नै हतियार बनाउने योजना बनाए। जुन योजनाले उनलाई शनिबार महानगरीय प्रहरी अपराध महाशाखाको हिरासतमा पुर्‍यायो। आजको नागरिकमा खबर छ ।

विश्वकर्मा उनै हुन् जसले चौधरीसँग ५० लाख रुपैयाँ असुल्ने योजना बनाएर उनका पाँच वर्षीय छोरा विशालको अपहरणको योजना बनाए। यही आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। विश्वकर्मासँगै प्रहरीले सहयोगीको आरोपमा विष्णु पाण्डेलाई समेत पक्राउ गरेको छ। ‘चौधरी र पाण्डे मिलेर बालक विशालको अपहरण गरेको खुलेपछि उनीहरूलाई गाईघाटमा पक्राउ गरेर ल्याएका हौं,’ महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले भने, ‘चौधरीसँग पैसा असुल्न उनीहरूले अपहरण गरेको खुलेको छ।’

अघिल्लो साताको बिहीबार पकनाजोलस्थित शान्ति शिक्षा माध्यमिक विद्यालयबाट घर फर्कने क्रममा विशाल हराएका थिए। विद्यालयमा पढाइ सकिएपछि घर फर्कने क्रममा उनी कसैले चलाएको मोटरसाइकलमा चढेका थिए तर घर पुगेनन्। विद्यालयको क्लोज सर्किट टेलिभिजन दृश्यमा विशाल खुसीसाथ मोटरसाइकल चढेकाले परिचितसँगै गएको भन्दै प्रहरीले शुक्रबारसम्म हराएको हुनसक्ने भन्दै अनुसन्धान त्यतै केन्द्रित गरेको थियो।

तेस्रो दिन अघिल्लो शनिबार जब चौधरीलाई छोराको मुक्तिका लागि ५० लाख रुपैयाँ फिरौती माग्दै फोन आयो तब बालक अपहरणमा परेको पुष्टि भएपछि अनुसन्धानमा महाशाखाको टोली जोडिएको थियो। महाशाखा अनुसन्धानमै रहँदा गत सोमबार बिहान काँडाघारीको सडकमा विशाल फेला परेका थिए।

विशाल अपहरणमा परेको दिनदेखि शनिबारसम्म विश्वकर्मा चौधरीसँगै थिए। उनी अघिल्लो शनिबार बेलुकादेखि चौधरीको डेरामा आउन छाडेका थिए। अमात्यका अनुसार घटना प्रकृतिले अपहरणमा चौधरी निकट नै संलग्न रहेको देखिएपछि प्रहरीले उनका निकटलाई नै शंकाको दायरामा राखेको थियो। त्यसमा मगर र विश्वकर्मा पनि थिए। यसअघि प्रहरीले मगरलाई नियन्त्रणमा लिएको थियो तर विश्वकर्मा बाहिरै थिए।

लापरबाही गरेको भन्दै विद्यालयका अधिकारीसँग छलफल गर्न जाँदा होस् या प्रहरी कार्यालयमा अनुसन्धानको प्रगतिबारे बुझ्न जाँदा होस् विश्वकर्मा चौधरीसँगै हुन्थे। चौधरीले विश्वकर्मा अति विश्वासिलो साथी भएको र श्रीमतीलाई भन्दा बढी विश्वास गर्ने बताएकाले शंकाको दायरामा रहे पनि प्रहरी उनीप्रति नरमै थियो।

शनिबार फिरौती माग्न प्रयोग भएको मोबाइल नम्बर, विश्वकर्माको गतिविधिले उनीप्रतिको शंका भने कसिलो बन्दै गएको थियो। जब बालक सोमबार अपहरणमुक्त भए त्यसपछि प्रहरीको अनुसन्धान पूरै विश्वकर्मा केन्द्रित भयो। तर त्यो बेलासम्म उनी फरार भइसकेका थिए।