२४ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पैसा हुनेले मात्रै निर्वाचन जित्नसक्ने अवस्था आएको भन्दै सबै वर्ग र क्षेत्रका जनताले जित्न सक्ने निर्वाचन प्रणाली बनाउनुपर्नेमा जोड दिएका छन ।

नेकपा (माओवादी केन्द्र) प्रदेश नं–३ अन्तर्गतका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यका लागि यहाँ आज आयोजना गरिएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले अहिलेको निर्वाचन प्रणालीले गरिब, उत्पीडितले निर्वाचन जित्न नसक्ने भएकाले निर्वाचन प्रणाली बदल्नुपर्ने बताए ।

अध्यक्ष दाहालले भने, “भर्खरै छ प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । एउटा गाउँपालिका जित्न रु चार÷पाँच करोड खर्च भएको छ, यो सामान्य कुरा होइन । बिहान बेलुका छाक टार्न मुस्किल हुने क्षमता र जनविश्वास भएर पनि निर्वाचन जित्न सक्दैनन् ।”

उनले धनीले मात्र जित्ने, प्रतिभा एवं जनसमर्थन भएर पनि गरिबले हार्ने निर्वाचन प्रणाली कायम भएकाले यसलाई बदल्नुको विकल्प छैन । पार्टीबीच चुनावमा प्रतिस्पर्धा हुने पूर्ण समानुपातिक प्रणालीले मात्र निर्वाचनमा देखिएको आर्थिक अराजकता र विकृतिलाई रोक्न सकिन्छ ।

उनले माओवादी र देशभक्तको एकताको नेतृत्व माओवादी केन्द्रले गर्नुपर्नेमा जोड दिँदै भने, “माओवादी धाराका सबै शक्ति निर्वाचन लड्याँै । तर जनताले हामी सबैलाई मिल भन्ने सन्देश दिएका छन् । अब मिल्नुको कुनै विकल्प छैन ।”

नेपाली जनताले एकताका लागि पहल गर भन्ने सन्देश दिएको उल्लेख गर्दै उनले जनआवाजलाई बुझेर सबै माओवादी धारा र देशभक्त एक हुनुको विकल्प नरहेको बताए ।

आफ्नो पार्टीको मूल समस्या वैचारिक अस्पष्टता र संगठनात्मक समस्या नै भएको जानकारी दिँदै उनले विचारमा धारिलो भएपछि संगठनलाई गतिशील बनाउन सक्नेगरी आवश्यक तयारी गरिएको बताए ।

माओवादी नभएको भए स्थानीय तह र निर्वाचन दुवै नहुने भन्दै उनले भने, “हामी नभएको भए स्थानीय तह हुँदैनथ्यो, निर्वाचन पनि हुँदैनथ्यो । तर, यसलाई उल्टाउने कोसिस पनि भइरहेको छ ।”

प्रतिगामी शक्तिको बल पुग्यो भने संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्टाउने र त्यही आडमा धर्मनिरपेक्षतालगायतका परिवर्तनका एजेण्डासमेत धरापमा पार्ने खेल भइरहेको अध्यक्ष दाहालको कथन थियो ।

राष्ट्रिय समाजवादकै नारा दिएर जर्मनीमा फासीवादको अभ्यास भएको भन्दै उनले मुलुकमा पनि राष्ट्रियताका नाममा पहाडी र मधेशीको नाममा खेल्न खोजिएको बताए ।

राष्ट्रवादका नाममा नश्लवाद हुँदै फासीवादको अभ्यास गर्न खोजिएको भन्दै उहाँले अन्ध राष्ट्रवादले मुलुकलाई नै दुर्घटनामा लैजाने भयानक खतरा रहेको उल्लेख गरे ।

माओवादीसँग सहकार्य गर्ने शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख मान्नुपर्ने र आफैँले मानेको एजेण्डा फेर्ने नैतिक अधिकारसमेत काँग्रेस–एमालेलाई नभएको स्पष्ट पारे । हिमाल, पहाड र तराई–मधेशलाई जोड्नसक्ने एजेण्डा भनेकै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डा रहेको उनको कथन थियो ।

प्रशिक्षण कार्यक्रममा नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, अग्नि सापकोटा, पम्फा भुसाल, हितमान शाक्य, विश्वभक्त दुलाल, नारायण दाहाल, सूर्य सुवेदी, अञ्जना बिशङ्खेलगायतको उपस्थिति थियो । रासस