१४ मंसिर, पोखरा । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले पर्यटकीय नगरी पोखरालाई खेलकुद नगरीको रुपमा विकास गरिने बताएका छन ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याव्सन) कास्कीको आयोजनामा आजदेखि पोखरा रङ्गशालामा सुरु भएको एघारौं नेसनल प्याप्सन खेलकुद महोत्सवको उद्घाटन गर्दै उनले पोखरामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाइने जानकारी दिए ।

daljit-shripaili

खेलकुदको विकासका लागि देशव्यापी रुपमा खेल अभियान सुरु गरिने र यसक्रममा १३ वर्षभन्दा मुनिका बालबालिकालाई खेलप्रति आकर्षित गर्न उपराष्ट्रपति कप खेलकुद प्रतियोगिता सञ्चालन गरिने जानकारी गराए । उनले शैक्षिक पाठ्यक्रममा खेलकुदलाई पनि जोड्नुपर्नेमा जोड दिए ।

नेसनल प्याप्सनका केन्द्रीय अध्यक्ष कर्णबहादुर शाहीले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न विद्यालयले अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै जानुपर्ने धारणा राखे । यही मङ्सिर १७ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा जिल्लाका ४५ विद्यालयका सात हजारभन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ । महोत्सवअन्तर्गत भलिबल, फुटबल, बास्केटबल, ह्यान्डबल, टेवलटेनिस खेल समावेश गरिएको छ ।