२५ पुस, लिस्बोन:

दुई महिना अघि गाडी दुर्घटनामा परि दुई नेपालीको मृत्यु भयो । पुष २२ गते सुतिरहेको अवस्थामा पोखराका दीपकमान गुरुङले ज्यान गुमाए । यो सँगै एक वर्षको अवधिमा मुकुन्द रिजाल, सुरज आचार्य, जनकलाल श्रेष्ठ, सन्तोष साप्कोटा, अलिन थापा लगायत गरी झण्डै एक दर्जन नेपालीको ज्यान गइसकेको छ । त्यसको प्रमुख कारण मदिरा सेवन मानिएको छ ।

मान्छेको मुड सधै एकनास हुँदैन कि खुशी हुन्छ कि दुःखी । पिउनेहरुका लागि वहाना प्रयाप्त छन् । आज शुखमा पिउँछ, भोली दुःखमा पिउँछ । पिउँदिन भन्दै पिइरहन्छ । घर परिवारबाट टाढा हुनुको एउटा तनाव । जसले जागिर पाएको छ, उसले धेरै समय काम गर्नु पर्दा शारिरीक थकान । काम नपाएकाहरुलाई मानसिक तनाव । त्यसमाथि छद्म नामबाट सञ्चालित फेसबुके पत्रकारले फैलाउने अनावस्यक अफवाह ! त्यसले झन पिउँदिन भन्नेहरुका लागि पिउने वहाना जुराइदिइरहेको छ । अनि सस्तोमा (डेढ युरोमा एक लिटर बियर) पाइदा पैसा नहुनेहरुलाई पनि पिउने वहाना मिलाईदिएको छ ।

त्यसैले घटना दुर्घटना कम गर्न, घर परिवार र काम प्रति इमानदार र जिम्मेवार बनाउन र आफ्नो स्वास्थ्यको ख्याल गर्ने बानी बसाउन पोर्चुगलका जिम्मेवार व्यक्तिहरु मदिरा नियन्त्रण अभियानमा जुटेका छन् ।
porchugal-drink-abhiyan-meet-1नेपालीहरुको एकपछि अर्को गर्दै मृत्युका घटना बढ्न थालेपछि पोर्चुगलका जिम्मेवार व्यक्ति अभियानमा जुटन लागेका हुन् । मृतक गुरुङको घटनास्थलको निरिक्षण पछि पोर्चुगलका लागि अवैतानिक वाणिज्यदुत मकर बहदुर हमाल, गैर आवासिय नेपाली संघ एनआरएनका अध्यक्ष भिम केसी कमल, एनआरएनका सल्लाहकार तिलक गैरे, एलडीए नामक कम्पनीका निर्देशक भुपेन्द्र बस्नेत लगायतले अव मदिरा नियन्त्रणमा लाग्न ढिलाई गर्न नहुनेमा जोड दिएका छन् । त्यसका लागि नेपाली खेती कम्पनिका सञ्चालकहरुसँग परामर्श गरी नियममा कडाई गरिने भएको हो ।

पोर्चुगलमा २५ वटाभन्दा बढी नेपालीले खेती कम्पनि सञ्चालन गरेका छन् भने ती कम्पनि मार्फत सिजनको समयमा ७ हजारभन्दा बढी नेपालीले खेतीमा काम गर्छन । खेतीमा काम गर्ने नेपालीको संख्या बढी भएको र समस्या पनि बढी हुने गरेकोले मदिरा नियन्त्रण अभियान सञ्चालन गर्न आवश्यक रहेको एनआरएनका अध्यक्ष केसीको भनाई छ ।

porchugal-drink-abhiyan-meet-2
एनआरएनका सल्लाहकार गैरेले मदिरा सेवन नियन्त्रण गर्न नसकिए पनि कम गर्न सकिने भएकाले मदिरा विरोधी जागरण ल्याउने गरी कम्पनी सञ्चालकले नियममा कडाई गर्नु पर्ने बताए ।

porchugal-drink-abhiyan-meet-3
खेती कम्पनिका सञ्चालकसँगको छलफल पछि सकेसम्म मदिरा पिउँदै नपिउने गरी अभियान चलाउने, पिउने नै भए विदाको दिन सिमित मात्रामा पिउने, नियमभन्दा बाहिर गएर मदिरा सेवन गरेमा कामबाट निस्काशनसम्मका कारवाही गर्ने र अनुगमनका लागि समित गठन गर्नेसम्मको छलफल भएको छ ।