११ असार, एजेन्सी ।
पोर्चुगल र मेक्सिको फिफा कन्फेडेरेसन कपको सेमिफाइनलमा पुगेका छन् । गएरातिको खेलमा न्युजिल्याण्डलाई चार शुन्यले पराजित गर्दै पोर्चुगलले सेमिफाइनलमा ठाँउ सुरक्षित गरेको हो ।

खेलको ३३औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । बर्नार्डो सिल्भाले अठ्तिसौं मिनेटमा गोल गर्दै टोलीलाई दुई शुन्यले अगाडी बढाए । ८०औं मिनेटमा आन्द्रे सिल्भाले एक गोल थपे ।

इन्जुरी समयमा मैदान प्रवेश गरेका नानीले गोल गर्दै टोलीलाई चार शुन्यको जीत दिलाए । अर्को खेलमा आयोजक रुसलाई मेक्सिकोले २–१ ले हरायो । खेलमा मेक्सिकोका लागि नेस्टोर अराउखो र हिर्भिङ लोसानोले गोल गरे । रुसका लागि एक मात्रै सान्त्वना गोल अलेक्जेन्डर सेमेडोभले गरे ।

समूह ‘ए’को अंक तालिकामा २ जित र १ बराबरीसँगै ७ अंक जोड्दै पोर्चुगल समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो । समूह चरणका तीन खेलमध्ये दुईमा जित र एकमा बराबरी गरेको मेक्सिको सात अंकसहित समूह उपविजेताका रुपमा अन्तिम चारमा स्थान पक्का गरेको हो ।

रुसले भने एक खेल मात्रै जित्यो भने न्युजिल्याण्ड प्रतियोगिताका तीनै खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ।