२७ वैशाख, काठमाडौं ।

महानगरीय प्रहरी अपराध महाशाखाले चार करोड ७५ लाख ६० हजार बराबरको विभिन्न विदेशी मुद्रासहित छ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

महाशाखाबाट खटिएको टोलीले बिहान पर्यटक गाडीसहित नागढुङ्गाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक प्रकाशजङ्ग कार्कीले काठमाडौँबाट गल्छी, रसुवा, केरुङ नाका हुँदै चीन जान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका चिनियाहरुबाट अमेरिकी डलर ३ लाख ४९ हजार, युरो ६८ हजार, चिनियाँ युआन १४ हजार ४ सय, जापानी येन ३१ लाख, स्वीस फ्र्यान्क २ हजार २ सय, अस्ट्रेलियन डलर एक हजार ४ सय, स्टर्लिङ पाउण्ड एक हजार एक सय र नेपाली रुपैयाँ २४ हजार ६ सय बरामद गरिएको छ ।

प्रवक्ता कार्कीका अनुसार ती सबै मुद्राको नेपाली रुपैयाँमा हिसाब गर्दा करिब चार करोड ७५ लाख ६० हजार हुन आउँछ ।