३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एमालेले यही मंसिर ५ गते चितवनको भरतपुरमा गर्ने बृहत् चुनावी सभा तोकिएकै मितिमा गर्ने निर्णय गरेको छ ।

आज आइतबार माओवादी केन्द्र चितवनको पार्टी कार्यालय भतरपुरमा बसेको वाम गठबन्धनको आकस्मिक बैठकले सो निर्णय गरेको हो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तथा केन्द्रीय सल्लाहकार सीता दाहालका एकमात्र सुपुत्र प्रकाश दाहालको अकस्मात हृदयघातबाट निधन भएपछि आज आइतबारका सबै चुनावी कार्यक्रम स्थगित गरी मंसिर ५ मा गर्ने सभा भने तोकिएकै मितिमा गर्ने निर्णय भएको हो ।

सो सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजना गर्ने सभामा चितवनका तीनवटै निर्वाचन क्षेत्रबाट एकलाख जनता उतार्ने तयारी गरिएको नेकपा माओवादी केन्द्र चितवनका इन्चार्ज इश्वरी भट्टराईले जानकारी दिए ।

सभालाई भव्य वनाउन विभिन्न उपसमितिहरु गठन गरी नियमित तयारी भइरहेको संयुक्त वाम गठबन्धन चितवनका सहसंयोजक केशवलाल श्रेष्ठले बताए । सो आकस्मिक बैठकले नेकपा (माओवादी केन्द्र)का उदयमान युवा नेता प्रकाश दाहालको ३६ वर्षको अल्पायुमा भएको अप्रत्यासित र आकस्मिक दुःखद निधनले नेपालको कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेको छ ।

बैठकपछि जारी विज्ञप्तिमा देशका पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्षलगायत उहाँको परिवारजन र सिङ्गो पार्टी पंक्तिमा परेको गहिरो शोकप्रति हार्दिक समवेदना व्यक्त गर्दै स्वर्गीय प्रकाश दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।