दिल निसानी मगर

जो शक्तिमा हुन्छन् त्यसका वरिपरी अनेक किसिमका मानिसहरु घुमिरहेका हुन्छन् । प्रचण्ड अहिले शक्तिमा छन् । त्यसैले प्रचण्डका वरिपरी अनेक थरिका, विचारका, स्वभावका, चिन्तनका मानसिहरु घुमिरहनु खासै अचम्मको बिषय होइन ।

लेखक

लेखक

स्वभावत प्रचण्ड स्वयं आफै पनि विचार, बिमर्शमा रमाउने आदत रहेको लिडर भएकाले उनको बारेमा कैयौँ जायज, नजायज चिन्ता, चासोहरु सार्वजानिक रुपमै आँउनु स्वभाविक छ ।

हतियार बिसाएर शान्ति प्रकृया जारी रहेकै अवस्थामा चुनाव मार्फत देशको सबैभन्दा ठुलो पार्टीको हैसियतमा पहिलो पटक प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हाल्दा जति वजन थियो, त्यो दोश्रो पटक देखिदैन । तर नेपाली राजनीतिको मियो प्रचण्डकै वरिपरी घुमिरहेको तितो सत्य हो । आलोचना अनि समर्थनका मतभेदहरु जतिसुकै भएपनि प्रचण्डको प्रभावकारी पहलकदमी बिना नयाँ संविधानको घोषणाको सायदै कल्पना गर्न सकिन्थ्यो ।

लिडरको विश्वास र क्षमताका कारण हामी माझ प्राप्त जे जति उपलब्धिहरु छन्, ति लिडरकै विचारले जन्म दिएका हुन् । तसर्थ ति उपलब्धिहरुको रक्षा गर्नु सरकारको पहिलो कर्तव्य हो ।

जस्तो कि धर्म निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सकिएन भने प्रचण्डको विचार संस्थागत हुन सक्दैन । यि राजनैतिक उपलब्धिको जग नै विकाशको बिन्दु हो । भावी सन्ततिहरुको बलियो जग हो ।

समानुपातिकता, समावेशी, पहिचान यि सबै प्रचण्डको दिमाग मार्फत पैदा भएका हुन् । नेपाली भूमिलाई न्याय दिन यो पैदा हुन आवश्यक थियो । अब यि चिजहरुको संस्थागत गर्ने समय आएको छ ।

यो समयमा प्रचण्डले तनाव र जिम्मेवारी जति धेरै ग्रहण गर्न सक्छन् त्यति नै चिजले सहि मार्ग पकड्न थाल्छ । लिडरलाई केवल उक्साउने कुरा अनि धरातलमा उभिएर सहि सल्लाह-सुझाव दिनेकुरा नितान्त फरक कोण हुन् ।Prachanda at delhi

दोश्रो कार्यकालका लागि प्रधानमन्त्रीको सपथ खाँदै गर्दाका सुरुवाती महिनाहरुमा प्रचण्डको मुहार जे जति उज्यालोपन थियो, त्यहि मात्रामा कायम रहन सक्यो भने मात्रै पनि प्रचण्ड सरकार आंशिक सफल भएको बुझिन्छ । तर मुहारमा बिस्तारै अँध्यारो छाउँदै गएको छ । र यो यथार्थतालाई स्वीकार्नु पर्ने समय समेत आएको छ । समयममै स्वीकार्नु भनेको समयमै सच्चाउनु हो । जनताको हितका निम्ति साँच्चै उथलपुथल गर्ने सकिने समय अझै बाँकी छ ।

तर विश्वमा जति पनि नेता असफल भएका छन् ति अधिकांश गम्भिर षड्यन्त्रको मारमा परेका छन् । सफल जो भएका छन् तिनका पछाडि सफल सहयोगीहरुको महत्वपुर्ण भूमिका रहन्छ । र यो कार्यकाल प्रचण्डको पुरक परीक्षा भएकाले पास हुने सम्भावना ज्यादै छ । फेल भएर बदनामी ब्यहोरनू पर्ने खतरा पनि उत्तिकै छ । प्रचण्ड सरकारको बदनाम हुनुको भागिदार प्रचण्ड मात्रै हुन सक्दैनन्, किनभने प्रचण्ड भनेको विचार हो ।

सबैभन्दा क्षति बिचारको बदनाम हुदाँ हुन्छ । पहिलो सरकार सम्हाल्दा प्रचण्डका आफ्नै कार्ययोजना, विचार, चेतना, शैली र प्रभाव थियो । तालमेल मिल्न नसक्दा लिडरका यि चिन्तनहरु फेलियर जस्तै भयो । चिन्ता के हो भने अब उपरान्त प्रचण्डको चिन्तनहरु फेलियर नहुन भन्ने हो । कम्तिमा प्रचण्ड प्रधानमन्त्री भएको समयमा नहुन् । बिरोधीहरुले प्रयोग गरेको अन्तिम अश्त्र भ्रमको पर्दाफास भ्रम नै छरेर हुदैन ।

यो दोश्रो कार्यकाल प्रचण्डको पुरक परीक्षा हो । तर प्रचण्ड प्रधानमन्त्री बन्नु भनेको नेपालमा घटनाक्रम बिकशित हुनु हो । जस्तो कि उदाहरणको लागि यसपालि सपथ ग्रहण गरे लगत्तै बित्तिय बजारको कारोबारको पहिलो दिनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से ) ओरालो लाग्यो । १९ दशमलव २५ अंकले घटेको नेप्से परिसूचक १७०३ दशमलव १८ अंकमा पुगेको थियो ।

गंगमाया अधिकारी आमरण अनशन बस्न सुर गरिन् । यि सुनुयोजित रुपमा प्रचण्ड सरकारलाई कमजोर बनाउने दाउ थिए ।

ओलीले चीनसँग गरेका सम्झौताहरू कार्यान्वयन नहुँदै अनि देखाएका सपनाहरू पुरा नहुदै प्रचण्ड प्रधानमन्त्री भए र ओलिको सपना पुरा हुनै परेन भन्ने सन्देश गएको छ बाहिर । हुन पनि सपना देखेरै २१ शताब्दि सम्म दासहरुको जस्तो जीवन भोग्नुपरेका हामीहरुको लागि सपना केवल सपना मात्र हुदैन, ललिपप जस्तो पनि हुन्छ ।

सरकार निर्माण हुनु, ढल्नु त्यो सामान्य संसदिय अभ्यास हो । एमालेका तिनै जना नेतालाई प्रचण्डले प्रधानमन्त्री बनाउन भुमिका खेले, तर प्रचण्ड प्रधानमन्त्री बन्दा एमालेजनहरु आगो बनेर निस्के ।

प्रचण्डका बिरुद्ध ‘इगो सेन्ट्रिक’ र ‘सेल्फ सेन्ट्रिक’ झन् बढ्यो । केपि ओलीको स्तरमा कुनै शंका त छैन तर पनि सामान्य मर्यादाको ख्याल नै नगरि सत्ताको साँचो बुझाउन पर्दाको अथाह पिडा बेस्सिरि झल्कियो ।

ओलीले घर-घरमा ग्यासका पाइप लगायतका सपनाहरू देखाइदिए, जनताहरु रनभुल्लमा परे । हो कि क्या हो भनेर सोच मग्न पनि बने । तर देशको मुख्य समस्या के हो, तिनलाई समाधान गर्न नसके के नोक्सान हुन्छ र कसरी हल गर्नुपर्छ भन्ने गहिरो चिन्तन गर्न धेरैले सकेनन् ।

राष्ट्रियता, सार्वभौमिकताका निम्ति प्रचण्ड निकै अपरिपक्व मानिस हुन् र जे पायो त्यहि निर्णय गर्दै हिड्छन् भन्ने त लाग्दैन । भारततिर लहसिने वा चीन तिर गाँसिने कुरा पनि प्रचण्डको राजनैतिक जीवनको इतिहास हेर्यो भने बडो डायनामिक देखिन्छ ।

तर यहाँ प्रचार चाँहि के भयो भने प्रचण्ड देश बेच्नको लागि प्रधानमन्त्री भएको जस्तो गरेर । नेपालमा परिवर्तनको नारा ल्याएको कस्ले हो ? दुखि गरिब जनताको आँखामा उज्यालो चेतना भरेको कस्ले हो ? समावेशी र समानुपातिकताको एजेण्डा कस्को हो ?

जनजाति तथा मधेसकेन्द्रित दलहरू आन्दोलन गरेको गरेकै छन् । त्यत्रो नाकाबन्दी भयो । राजधानीमै आएर पनि उनीहरुले आफ्ना मागहरु अनेक तवर मार्फत राखे ।

उनिहरुको पहिचानको मान राजनैतिक मात्र होइन । त्यो त ऐतिहासिक, सास्कृतिक जगको आधारमा निर्मित माग हुन् । तर ति शक्तिहरुलाई मुलधारमा ल्याउने र संविधानको स्वीकार्यता बढाउनुको बदलामा ओलीले राजनैतिक विश्वासमा गुमाउदै गए ।

ओलिको राजनैतिक विश्वास गुम्नु भनेको संविधान कार्यान्वयनलाई सहज हुन नदिनु हो । संविधानको कार्यान्वयन नहुने बित्तिकै धर्म निरपेक्षा, गणतन्त्र, समावेशी, संघीयता, समानुपातिका जस्ता प्राप्त उपलब्धिहरु संस्थागत हुन सक्दैनन् । यो उपलब्धि संस्थागत नहुदाँ जनयुद्ध, जनआन्दोलन र संविधान सभाको औचित्य सावित गर्न सकिदैनथ्यो । संयोगवश ओलीले ‘संघीयता देशले धान्न सक्दैन’ जस्ता गैरजिम्वेवार तर्कका कारण पनि गणतन्त्र प्रेमीहरु झस्किनु आवश्यक थियो ।

तर कांग्रेसको समर्थनमा सरकार निर्माण भएपछि प्रचण्डका निम्ति सबैभन्दा मुख्य चुनौति भनेको नै बिरोधी शक्ति, प्रतिपक्ष शक्तिको प्रश्नहरुको उत्तर दिनु थियो । किनभने प्रचण्ड अब कहिल्यै प्रधानमन्त्री हुन सक्दैनन् भनेर ओली प्रेमिजनहरुले लामो समयदेखि हल्ला फिजाँएका थिए । यो हल्लै-हल्लाहरुको देशमा प्रचण्ड प्रधानमन्त्री बन्नु तिनका लागि सुखद बिषय हुन सक्दैनथ्यो ।

भयो पनि त्यस्तै, दुखित मनस्थितिका मानिसहरुको जालझेल, षड्यन्त्र, आरोप, प्रत्यारोपको समाना गर्दै प्रचण्डको कार्यकाल सकिने संभावना छ ।

नेपाली राजनीतिमा दिल्लीसँग पैठेजोरी खेल्नुको परिणाम दुखद् नै हुन्छ भन्ने प्रचण्डलाई थाहा त छ तर देशको प्रमुख कार्यकारिको हैसियतमा भारत वा अरु कुनै देश संग आफ्नै भिजनको आधारमा सम्बन्धलाई थप मजबुद बनाउँछू भनेर चिन्तन, चिन्तन गर्नु कुनै अपराध हुदैन । जब कि प्रचण्ड खुला किताबका पाना हुन् । गल्ति कमजोरी भएमा माफि माग्ने र राम्रो राम भएको छ भने बाहिर राम्रो सन्देश जावोस् भनेर अपेक्षा राख्ने । तर यहाँ नियतवश प्रचण्ड सरकारको बदनाम गर्ने हर्कतहरु भईराखे ।

आफूमाथि बारम्बार सुरक्षा चुनौति बढेको प्रचण्ड निकट सुत्रहरुले बताउदै आएका छन् । सेनापति प्रकरणमा दिल्लीले गम्भिर चेतावनीकै भाषा बोलेको थियो। त्यो प्रकरणमा के भयो, कसरि सेभ, डिभेन्स भयो त्यो त हामी सबैलाई थाहा नै छ । लुकेको-छिपेको छैन ।

प्रचण्ड सरकार नहुदाँ पनि हुदाँ पनि प्रचण्डको अनुकुलमा दिल्ली कहिल्यै नि छैन । दिल्लीले प्रतिशोध साँध्न छोड्दैन। बिपी, बिरेन्द्र र मदन भण्डारीले जे जस्तो नियति भोगेका थिए, त्यो दिल्लीकै प्रतिशोधकै परिणाम थियो।

अहिले भिन्न कोणबाट प्रचण्डमाथी त्यस्तै चुनौति साँधिएको छ । बाबुरामको काँधमा बन्दुक राखेर दिल्लीले फायर खोल्यो । मुमारामहरु मुसा भनेर भागिसकेका छन् । रामेश्वरहरु भाग्ने तरखरमा छन् । यो सबै योजना मार्फत नै भएका हुन् । प्रचण्डले राम्रो गरोस् भन्ने शक्तिकेन्द्रले प्रचण्ड एक्लै होस् भन्ने अपेक्षा राख्न सक्दैन ।

लोकमानकै सन्दर्भको बारेमा पनि नयाँ बिषयहरु बाहिर आएका छन् । भलै त्यो बारे चर्चा गर्नु हतारो हुनेछ । तर जे जति बाहिर आएका छन् यो पनि प्रचण्डलाई कमजोर बनाउने जासजुसि रणनिति नै हो ।

नाकाबन्दी यताको दस महिनामा भूराजनीतिको विषयमा यति धेरै बहस भइसकेको छ । त्यसैले भारत र चीनसंग नेपालको सम्बन्ध कस्तो हुने भन्ने बारेमा थप बहसको आवश्यक नै छैन ।

जनता जान्ने भएका छन्, बुझ्ने र तर्क गर्न सक्ने हिम्मत राख्छन् । तर प्रचण्डले दिल्ली भ्रमणको समयमा कुनै नयाँ सम्झौता नगरेको सकरात्मक कुरा बाहिर आएन । खाली नकरात्मकतालाई बढवा दिने काम मात्र भयो । दुई देशका प्रधानमन्त्रीका अगाडि जुन तीन वटा सम्झौता भए, ती बाध्यात्मक औपचारिकता मात्र थिए ।

हालसालै प्रधानमन्त्रीले गोवा भ्रमण पुरा गरेर फर्केका छन् र भ्रमण उपलब्धीपूर्ण भएको दाबी गरेका छन् । बुधबार नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा गोवा भ्रमणबारे जानकारी गराउँदै गोवा भ्रमणले नेपालको समसामयिक राजनीतिक विषयमा छलफल समेत भएको जानकारी गराएका थिए ।

सम्मेलनका क्रममा भारत, चीन, भुटान, दक्षिण अफ्रिका, श्रीलंका लगायतका देशका राष्ट्र र सरकार प्रमूखहरुसँग भएका द्वीपक्षीय भेटबार्ता र बहुपक्षीय भेट बार्ताहरु पनि देशको हितकै निम्ति थिए ।

गोवा भ्रमणको सन्दर्भमा प्रचण्डले व्यवस्थापिका संसद्मा सम्बोधन गरे । भारतको गोवामा चीनका राष्ट्रपति सि जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटबारे विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई जानकारी गराउन माग गर्नुको कारण नै विरोधका लागि विरोध गर्नुथियो तर पनि प्रचण्डले भएको के थियो त्यो जानकारी गराए । यद्दपि एमाले नेताहरु भिम रावल र शंकर पोखरेल लगायतहरुलाई सत्य र यथार्थ कुराप्रति विश्वास लाग्दैन ।

प्रधानमन्त्रीले चीन र भारतका सरकार प्रमसुखहरूसँग त्रिदेशीय साझेदारी, शान्ति प्रक्रिया, संविधान कार्यान्वयन र नेपालको विकासका विषयमा केन्द्रित रहेर त्रिपक्षीय कुराकानी गरेरका थिए । प्रधानमन्त्री प्रचण्डले गोवामा रहँदा भारतका समकक्षी, चीनका राष्ट्रपति, श्रीलंकाका राष्ट्रपति एवं भुटानका समकक्षीसँग द्विपक्षीय भेटघाट तथा कुराकानी गरेका थिए । यो पनि देशकै हितमा निम्ति थियो । तर नेपालमा प्रचार भयो अर्के, जुन नेपालको हितममा छैन ।

चिनियाँ राष्ट्रपति (सी जिन पिङ)सँग औपचारिक वार्ता सकिएपछि प्रचण्डको भ्रमण दल होटेलमा फर्किने क्रममा ब्रिक्स सम्मेलनमा सहभागी राष्ट्रपति र सरकार प्रमुखहरू पनि त्यही बाटो भएर आउनुपर्ने भएकाले केही समय चिनियाँ राष्ट्रपतिसँग वार्ता भएकै ठाउँमा प्रतीक्षा गर्ने हलमा बस्नुपर्ने अवस्था आएपछि प्रधानमन्त्रीको हैसियतले प्रचण्ड विशेष कार्यकक्षमा बसिरहेको बेला अचानक चीनका राष्ट्रपति प्रचण्ड बसिरेको स्थानमा आएका थिए ।

सी जिन पिङसँग प्रचण्डको ‘हट टु हट’ कुरा भयो । ‘वान टु वान’ कुराकानी भयो । जिन पिङ नेपाल आउनुपर्छ भन्नेबारे, हिजो भएका सहमति–सम्झौता कार्यान्वयन गर्नेबारे, नेपालको विकासका आवश्यकताबारे, शान्ति प्रक्रिया र संविधान संशोधनजस्ता विषयमा २० मिनेट कुराकानी भएपछि मात्रै कुराकानीकै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि त्यहाँ गएका थिए । त्यो पनि नेपालका लागि ठूलो अवसर भयो ।

तर नेपालमा के प्रचार गरियो भने चिनियाँ राष्ट्रपतिसँग भेट्न पाँच मिनेट ढिलो भयो । मोदीलाई साक्षी राखेर वार्ता गरियो जस्ता । कपिपय पत्रिकाले प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपतिलाई पाँच मिनेट कुराए भनेर लेखिदिए । नेपालको शान्ति प्रकृया, विकाश निर्माण र संविधान संस्थागतको सन्दर्भमा धेरै छलफल भए, ति पनि ओझेल परे ।

चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएको र सकारात्मक माहौल बनेको कुरा कहिँकतै आएन । प्रचण्डले गलत नै गर्यो, बर्बाद बनायो भन्ने मात्र भयो ।

यसो हुनुमा कतिपय नेपाली मिडिया र राजनैतिक दलहरुको ‘इगो सेन्ट्रिक’ र ‘सेल्फ सेन्ट्रिक’ ले मद्दत गरेको छ ।

दिल निसानीको अन्य लेख:
लोकमान सिंह कार्कीको आत्मकथा भाग- १