१० जेठ, काठमाडौ ।

राजिनामा रोक्नका लागि एमालेले संसद अवरुद्ध गर्ने बताएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरवारबाटै राजिनामाको घोषणा गरे । प्रचण्डले राजिनामा दिएपछि सबैभन्दा बढी तनाब एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भएको छ ।

संसद अवरुद्ध कायम राख्दै केही दिन राजिनामा दिनबाट प्रचण्डलाई रोक्न सकिने सोचमा ओली रहेका थिए । तर प्रचण्डले इमानको राजनीतिकलाई अगाडि बढाउन भन्दै राजिनामा दिएपछि एमालेका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने ओलीको सपना अधुरै रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले राजिनामा दिए लगत्तै आकास्मिक रुपमा ओली निवास वालकोटमा बसेको स्थायी कमिट बैठकमा प्रचण्डको निर्णयले धक्का लागेको ओलीले बताएका थिए ।

‘मैले सिंहदरवार र वालुवाटारमा पटक–पटक राजिनामा नदिन भनेको थिए, तर प्रचण्डले राजिनामा दिएरै छोडे’ ओलीको भनाई उदृत गर्दै एक नेताले भने, ‘देउवाको नेतृत्वमा सरकार बन्दा अब दोस्रो चरणको निर्वाचन हुने हो कि होइन भन्ने चिन्ता थपियो ।’

एमालेले प्रचण्डलाई राजिनामा नदिन दबाब दिएको थियो । त्यसैगरी सत्तारुढ दल कांग्रेसभित्रबाट पनि रामचन्द्र पौडेल पक्षले प्रचण्डले राजिनामा दिन नहुनेमा जोड दिएपनि देउवासँगको सहमति अनुसार प्रचण्डले राजिनामा दिएका छन् ।

प्रचण्डले राजिनामा दिएपछि सरकारले ल्याउने भनिएको बजेट, संविधान संशोधन र आगामी जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनमा अन्यौलता सृजना भएको छ ।